Logo

‘विशाल संघर्ष’का लागि तयार हुन उत्तर कोरियाली नेता किमको घोषणा



एजेन्सी, १६ मङ्सिर। उत्तर कोरियाली नेता किम जोङ उनले रक्षा, कृषि र पूर्वाधारको क्षेत्रमा प्रगति गर्न अर्को वर्ष ‘विशाल संघर्ष’का लागि देश तयार रहनुपर्ने बताएका छन् । नेता किमले सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्यूरो बैठकको क्रममा बुधबार यस्तो प्रतिक्रिया दिएका हुन् ।

पोलिटब्यूरो बैठकले अर्को महिना केन्द्रीय कमिटी बैठक तय गरिसकेको छ । उत्तर कोरियाले पछिल्लो समय आर्थिक चुनौतीको सामना गरिरहँदा नेता किमले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उनको सत्तारुढ पार्टीले नीतिगत लक्ष्यसहित यस वर्षको सुरुमा सार्वजनिक गरेको पञ्चवर्षीय योजना कार्यान्वयनमा सफलता मिलेको उत्तर कोरियाली सरकारी मिडिया कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।

‘राज्यको अर्थतन्त्रको स्थिर व्यवस्थापन र कृषि तथा भौतिक निर्माणका क्षेत्रमा ठूला सफलतासँगै राजनीति, अर्थतन्त्र, संस्कृति, राष्ट्रिय सुरक्षा लगायत राज्यका समग्र मामिलामा सकारात्मक परिवर्तन देखिनु उत्साहजनक छ,’ नेता किमले भनेका छन् ।

साथै आफूहरूले ठूलो संघर्ष गर्नुपर्ने भएकाले अर्को वर्ष महत्वपूर्ण भएको किमको भनाइ छ । यस्तै आणविक र क्षेप्यास्त्र कार्यक्रम, कोभिड-१९ महामारी र प्राकृतिक प्रकोपका कारण लगाइएका प्रतिबन्धका कारण उत्तर कोरियामा खाद्यान्न र बिजुलीको अभाव उत्पन्न भएको खबर आइरहँदा नेता किमले आफूहरूले अर्थतन्त्र र बिजुली वितरण बढाउने योजना अघि सारेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्