Logo

कांग्रेस बाग्मती प्रदेशको सभापतिमा कसले मार्ला बाजी ? केसी र प्रधानभन्दा बानियाँको पल्ला भारी



काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशनबाट आजबाट सुरु हुँदैछ । बागमती प्रदेश अधिवेशनमा सभापतिको लागि ईन्द्रबहादुर बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधान मैदानमा उत्रिएका छन् । बानियाँ सभापति शेरबहादुर देउवा पक्षधर हुन भने केसी पौडेल समूहका हुन् ।उता, प्रधान भने कृष्णप्रसाद सिटौला पक्षधर हुन् । तर, उनले आफूलाई सभापति देउवाको पनि साथ रहेको दाबी गरेका छन् । आजबाट सुरु हुने प्रदेश अधिवेशन भोलि (शुक्रबार) उम्मेदवारहरूको मनोनयन गर्ने कार्यतालिका छ ।

सभापतिका उम्मेद्धवारद्धय बानियाँ र प्रधानले त हिजो अपरान्ह र साँझ रिपोर्टर्स क्ल्ब नेपालमार्फत उम्मेदवारी घोषणा गरेका थिए । उता, पौडेल पक्षले पनि प्रकाशमान सिंहको चाक्सीबारीस्थित् निवासमा बसेको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बानियाँको उम्मेद्धवारी घोषणामा पूर्वमन्त्रीहरु, सांसदहरु, केन्द्रीय सदस्यहरु र विभिन्न जिल्लाका सभापतिहरुको बाक्लो उपस्थिति थियो । सबै हिसाबले अहिले बानियाँ नै बलियो रहेको कांग्रेस नेताहरुको दाबी छ। बानियाँ पार्टीको बाग्मती प्रदेशको संसदीय दलका नेता पनि हुन् । उनी भावी मुख्यमन्त्री हुन् । मुख्यमन्त्री राजेन्द्र पाण्डे र बानियाँबीच आधा आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भैसकेको छ ।

प्रदेशमा कांग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरूका लागि चुनाव गर्दैछ। यही मंसिर १८ मा चुनाव हुनेछ। प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन्। प्रदेश सभापति निर्वाचित हुन ५१ प्रतिशत मत हासिल गर्नुपर्छ। कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पुनः मतदान गर्नुपर्ने व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस्