Logo

टोपबहादुर रायमाझी भन्छन् : अब हामी माओवादी रहेनौं, त्यो इतिहासको कुरा भयो (भिडिओसहित)



नेकपा (एमाले) को १०औं महाधिवेशनमार्फत सचिवमा निर्वाचित टोपबहादुर रायमाझीले आफूहरु अब माओवादी नरहेको र त्यो ईतिहासको कुरा भएको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले भनेका छन्–‘सबैले पद पाउँछन् भन्ने कुरा होइन् । अब हामी माओवादी रहेनौं, त्यो इतिहासको कुरा भयो । माओवादी र एमाले मिलाएर हामीले नेकपा बनाईसक्यौं । यो नेकपा (एमाले) वास्तवमा नेकपाकै निरन्तरता हो । पार्टी एकताकै निरन्तरता हुन्छ । माओवादी, एमाले सबैपक्ष हामी यहीँ छौं । कतिपय साथीहरु चोइटिएर जानुभयो ।’ प्रस्तुत छ रायमाझीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले नेकपा (एमाले)मा पनि बाजी मार्नुभयो, होइन् ?

एमालेमा गएको होइन्, हामी पार्टी एकताकै निरन्तरतामा अगाडि बढेका छौं । बाजी मार्ने र पदको कुरा होइन् । पहिलो कुरा राष्ट्र र जनतालाई हामीले सर्वोपरि मान्छौं । त्यसपछि पद भन्ने कुरा जिम्मेवारीको कुरा हो ।

केपी शर्मा ओलीले तपाईंलाई विश्वास गर्नुभयो त्यसैले त तपाईंले पद पाउनुभयो नि होइन् र ?

स्वभाविक रुपमा केपी शर्मा ओलीले विश्वास गर्नुभयो । साथै, पार्टीका नेता , कार्यकर्ता, प्रतिनिधि र जनताहरुले पनि विश्वास गरे भन्ने रुपमा मैले बुझेको छु ।

केपी शर्मा ओलीको टिममा नपरेको भए तपाईंले जित्नुहुन्थ्यो ?

त्यसो होइन्, हामीले केपी शर्मा ओलीलाई स्वभाविक रुपले राष्ट्र र जनताको आजको आवश्कयत्ता र पार्टीको आवश्यकत्ता उहाँ नै हो भनेर मुली नेता बनाएको हो । हामी सबैले उहाँलाई नेता बनाएको हो ।

अबका दिन केपी शर्मा ओली कस्तो काम गर्नुहुनेछ, आफ्नो विपक्षमा रहेका नेताहरुमाथि उहाँले कस्तो व्यबहार गर्नुहुन्छ त्यो त हेर्न बाँकी नै छ । तर, पुर्व माओवादीबाट आएका सबै नेताहरुलाई उहाँले राम्रोसँग व्यवस्थापन गर्नुभयो त ?

सबैले पद पाउँछन् भन्ने कुरा होइन् । अब हामी माओवादी रहेनौं, त्यो इतिहासको कुरा भयो । माओवादी र एमाले मिलाएर हामीले नेकपा बनाइसक्यौं । यो नेकपा(एमाले) वास्तवमा नेकपाकै निरन्तरता हो । पार्टी एकताकै निरन्तरता हुन्छ । माओवादी, एमाले सबैपक्ष हामी यहि छौं । कतिपय साथीहरु चोइटिएर जानुभयो । त्यो एउटा कुरा होला । केपी शर्मा ओलीजी मेरो मात्र होइन्, समग्र पार्टी र समग्र राष्ट्रको समग्र नेताको जननेता हो । उहाँ त्यो रुपमा अगाडी बढीरहनु भएको छ । त्यसैले उहाँँको टिममा हामी पर्ने भन्ने कुरामा हामीले गर्ब महसुस गर्नुपर्छ । त्यसकारणले को माओवादीबाट आयो ? को एमालेमै रहिरह्यो ? त्यो भन्ने कुरा होइन् । यो महाधिवेशनमा फेरी हामीले टिममा र हामीले स्वतन्त्र रुपमा पनि प्रतिष्पर्धा गर्नसक्ने थियौं । त्यसकारणले प्रतिष्पर्धामा उत्रिनको लागि पनि स्वतन्त्रता थियो । हामी सहकार्य गरेर अथवा सर्वसम्मत निर्णय गरेर जानको लागिपनि हामी तयार थियौं । त्यतिमात्र होइन् वडादेखि लिएर पालिका, महाधिवेशन प्रतिनिधि र विधानसभामा समेत हामीले ९९ प्रतिशत सर्वसम्मत् गराइसकेका थियौं ।

प्रचण्डजी नेकपा (माओवादी) को अध्यक्ष हुनुहुन्छ, तर तपाईंले चोइटिएर जानुभयो भन्नुहुन्छ ?

होइन्, अध्यक्ष हुनुहुन्छ । घरपरिवारको एउटा पार्टी खोलेपनि अध्यक्ष भइहालिन्छ नि । आफ्ना घरपरिवारका मान्छे समावेश गरेर पार्टी बनाए त त्यसो भइहाल्छ नि ।

नेपाली राजनीतिमा तपाईं प्रचण्डलाई चुनौति दिनसक्ने ठाउँसम्म पुग्नुभयो ?

हामीले चुनौति दिने भन्ने कुरा होइन् । हामी राष्ट्र र जनता, देशको विकास र समृद्धि अनि कम्युनिष्ट आन्दोलनप्रति जिम्मेवार छौं अथवा छैनौं भन्ने कुरा महत्वपूर्ण हो । हामी समाजवादमा पुग्ने जुन लक्ष्य रहेको छ, त्यसप्रति हामी कति जिम्मेवार छौं भन्ने कुरा महत्वपूर्ण हो । कसलाई चुनौति दिने अथवा नदिने भन्ने कुरा नै गौण कुरा हो । हामी आफ्ना विषयमा केन्द्रित रहेका छौं । पार्टी धेरैले खोलेका छन् । देशमा सय÷डेढ सय पार्टी रहेका छन् । त्यसैले त्यो कुरा छोडिदिउँ । देशलाई समाजवादको दिशामा कसले पुर्याउछ भन्ने कुरा प्रमुख हो । हामी त्यसमा केन्द्रित रहेका छौं ।

उसोभए केपी शर्मा ओलीको नेतृत्वमा तपाईँहरुले पनि टिम बनाउनु भयो होईन् ?

हो, टिम बनेको छ । हामी टिममा बसेरै काम गर्ने हो ।

तपाईंहरु अबको दिनमा आफ्ना प्रतिष्पर्धीहरुलाई निमिट्यान्न पार्ने रनणीतिमा हुनुहुन्छ ?

पार्टीभित्र आन्तरिक जनवाद अथवा लोकतन्त्रको अभ्यास हुन्छ । अब त्यसमा हामी सहकार्य गरेरपनि अगाडि बढ्न सक्छौं । प्रतिष्पर्धा गरेपछि कसैले जित्छौं कसैले हार्छाैं । हारेपछि जसले हार्छ, त्यो सकिने अनि जसले जित्छ त्यो महान हुन्छ भन्ने हुँदैन् । पार्टीमा लोकतन्त्रमा स्वभाविक रुपमा हार–जित हुन्छ त्यो सबैले देखिरहेका छन् । जुन किसिमको हाम्रो प्यानल थियो । तोकिएका संख्याभन्दा बढी उम्मेद्वारी परेपछि चुनाव हुने त स्वभाविक भयो नि । चुनाव भइसकेपछि अब जित्नेले नेतृत्व गर्छ हार्नेले त्यसमा सघाउने काम गर्छ । हारिसकेपछि त्यसलाई स्विकार गर्नुपर्छ । एकपटक केपी शर्मा ओलीले महाधिवेशनमा हार्नुभएको होइन् । त्यसपछि दुई पटक उहाँ जित्नुभएको छ । यस्तो त भइराख्छ नि ।

चितवन महाधिवेशनले नेकपा (एमाले) लाई एक भएर जान सन्देश दियो भनिएको छ, त्यो कति सम्भव छ ?

विल्कुल सम्भव छ । अब नेकपा (एमाले) नेपालको कम्युनिष्ट आन्दोलनको मूल शक्ति हो । पार्टीभित्र प्रतिष्पर्धा हुन्छ, त्यो स्वभाविक पनि हो । सँगसँगै टुटेर फुटेर अगाडि बढिरहेका कम्युनिष्ट पार्टीहरुलाई पनि हामीले समग्रमा एकताबद्ध भएर जाने, कम्युनिष्ट आन्दोलनको मूलधार भएर जाने र सबै कम्युनिष्ट घटकहरुलाई समेटेर जाने लक्ष्य लिएर अगाडि बढिन्छ । मेरो विचारमा ढिलो/चाँडो जो विभाजन भएर जानुभएको छ । उहाँहरु पनि यसमा सभावेश हुनुहुन्छ, फेरी एकताको प्रक्रियामा उहाँहरु अगाडि बढ्नुहुन्छ भन्ने मेरो विश्वास रहेको छ ।

माओवादी केन्द्रका नेताहरु पनि नेकपा (एमाले) प्रवेश गर्छन् ?

प्रवेशको कुरा होइन्, एकता नै हुन्छ ।

उसोभए प्रचण्डसँग तपाईंहरुको एकता हुन्छ भन्न खोज्नुभएको ?

मैले त्यो सम्भव देख्छु । केही बुझाईमा तलमाथि परेको कारणले विभाजन भयो त्यसलाई फेरी हामीले आत्मसात् गरेर कमिकमजोरीलाई करेक्सन गरेर एकता हुनसक्छ । यसो हुनैसक्दैन भन्ने मलाई लाग्दैन् । हुनसक्छ, त्यो संभव छ र हुनपनि पर्छ ।

त्यसोभए केपी शर्मा ओली र प्रचण्डका बीचमा फेरी सहकार्य हुन्छ ?

हुन्छ भनेर म ग्यारेन्टी हुन्छ त भन्दैन् । तर, ढिलो/चाँडो हामी त्यो उद्देश्यका साथ अगाडि बढ्नुपर्छ । हामीले आफ्नो पंक्तिलाई सुदृढ गर्ने र अरुलाई पनि एकतामा ल्याउनको लागि कोशिश गर्छौं । कसैप्रति हाम्रो पूर्वाग्रह छैन् । जहाँ/जहाँ त्रुटिहरु भए त्यसलाई आत्मसात गरेर करेक्शन गर्ने हैसियत र हिम्मत राख्नुपर्छ भन्ने मलाई लाग्छ ।

नेकपा (एकीकृत समाजवादी) सँग एकीकरणको संभावना कति छ ?

नेकपा (एकीकृत समाजवादी) पार्टीसँग पनि त्यही कुरा हो । माधवजी, प्रचण्डजी अथवा अन्य कुनैपनि पार्टीसँग हामीले सहकार्य गर्छौं । छलफल गर्दै जाँदा वैचारिक, राजनीतिक, योजना र कार्यक्रममा एकताबद्द भयौं भने एकता असंभव छैन्, मैले सम्भव देखेको छु । FILE PHOTO

 



प्रतिक्रिया दिनुहोस्