Logo

आमा समूहलाई पच्चीस लाख मूल्य बराबरको जग्गा दान



तनहुँ, १६ मङ्सिर: व्यास नगरपालिका–१ गल्बुबेँसी घर भई हाल बेलायतमा बस्दै आएका हरिबहादुर हडखलेले यहाँको एक आमा समूहलाई जग्गादान गरेका छन् ।

सोही वडास्थित नवआदर्श आमा समूहको भवन निर्माणका लागि उनले करिब रु २५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका हुन् । स्थानीयस्तरमा सक्रियरुपमा सामाजिक क्षेत्रमा काम गर्दै आएको आमा समूहको क्रियाकलापबाट आफू प्रभावित भई समूहको भवन निर्माणका लागि आफूले जग्गा उपलब्ध गराएको हडखलेले बताए ।

हडखलेका परिवार लामो समयदेखि बेलायतको लण्डनमा बस्दै आएका थिए । आमा समूहको भवन निर्माणका लागि आफूले पिता पिताम्बर हडखलेको स्मृतिमा निःशुल्करुपमा जग्गा दिन पाउँदा ज्यादै खुसी लागेको उनले बताए । दुई हप्ताअघि पारिवारिक कामले नेपाल आएको अवसरमा उन सो जग्गा प्रदान गर्नुभएको आमा समूहका कानूनी सल्लाहकार तथा जग्गादाताका दाजु अधिवक्ता डम्बरदेव हडखलेले जानकारी दिए ।

समाजसेवीको रुपमा परिचित हडखले परिवारले आमा समूहलाई तीनदेखि चार आनासम्म दिने भनी आश्वासन दिएका थिए । समाजमा रहेर केही योगदान गर्नुपर्दछ भन्ने सोचका साथ हड्खलेले जग्गा उपलब्ध गराउने प्रतिबद्धताअनुरुप मालपोत कार्यालयमा गई जग्गा पास गरी दिएको आमा समूहकी अध्यक्ष सावित्री हडखलेले बताए ।

विगत २३ वर्ष अगाडि संस्थापक अध्यक्ष रेनुका हडखलेको अध्यक्षतामा उक्त आमा समूह जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता गरिएको थियो । तिहारमा हुने देउसी भैलो, स्थानीयको घरमा हुने बिवाह व्रतबन्ध, पूजाआजा, लाहुरे आएका अवस्थामा नाचगान गरी प्राप्त हुने रकमले सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

विविध क्रियाकलापबाट सङ्कलित रकमबाट प्रतीक्षालय निर्माण गर्नुका साथै गाउँमा रहेको अकला मन्दिर परिसरमा अकला मन्दिर, महादेव मन्दिर, दुई वटा ठूला ट्रष्ट हल निर्माण गरिएको समूहकी अध्यक्ष हडखलेले बताए । समय समयमा टोल छिमेकमा सचेतनामूलक कार्यक्रम, सरसफाइ र मनोरञ्जनात्मक कार्यक्रमसमेत गर्दै आइरहेको उक्त समूहले जनाएको छ ।

जग्गा दाताकी आमा गङ्गाकुमारी उक्त आमा समूहको ज्येष्ठ सदस्यका रुपमा रहनुभएको छ भने समूहबाट हुने हरेक कार्यमा सक्रियरुपमा सहभागी हुँदै आएका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्