Logo

जुम्लामा स्थानीयवासीद्वारा होमस्टे सञ्चालन



खलङ्गा, १६ मङ्सिर: जुम्लाको पातारासि गाउँपालिका– ७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन् । गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रुपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ ।

हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतका अनुसार विस्तारै अन्य घरमा पनि होमस्टे सञ्चालन गरिने छ । “सफल भएमा अन्य घरलाई पनि होमस्टे बनाउने योजना छ”, उनले भने । हाल रेडपाण्डा (रातो हाब्रे) संरक्षण नेटवर्कको सहयोगमा ६ घरलाई होमस्टे बनाइएको छ । रावतले भने,“ मुगुको रारा जाने पर्यटकलाई लक्षित गरी पट्मारा गाउँमा होमस्टे सञ्चालन गरिएको होे ।”,

गतवर्ष चैतदेखि सुरु भएको होमस्टेमा कोरोना भाइरसको महामारीका कारण उल्लेख्य पाहुना आएका छैनन् । कोरोनाको सङ्कट कम भएर पर्यटनले लय समात्नेमा रावत विश्वस्त छन् । आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने उनले बताए ।

पाहुनाको पर्खाइमा रहेको होमस्टे सञ्चालिका राज्यलक्षी रावतले बताए । “पहुनालाई न्यानो स्वागतका साथै रैथाने बालीका परिकार खुवाउन हामी आत्तुर छौँ । लोकल कुुखुराको सुप र मासु, कालीमार्सी चामलको भात, फाँपरको परिकार र चिनोको खिरलगायत परिकार तयार पाछौँ”, उनले भने ।

रारा जाने तथा पट्मारा गाउँको महारुद्र सामुदायिक वनमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा हेर्नका लागि आउने पर्यटनलाई लक्षित गरी होमस्टे सुरु गरिएको रावतले बताए । “रेडपाण्डा हेर्न पट्मारा गाउँमा एक पटक आउन आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गछौँ । होमस्टे गाउँमै पहिलो भएकाले पाहुनालाई आर्गानिक परिकार पस्कने छौँ”, उनले भने ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्