Logo

काँग्रेस बागमती प्रदेशको चुनावः देउवासँग जुध्न बढेका प्रकाशमान सिंहको शक्ति परीक्षण



काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसको बागमती प्रदेशको अधिवेशन अन्तर्गत शनिबार निर्वाचन हुँदैछ । काठमाडौं उपत्यकासमेत रहेको यो प्रदेशमा देशभित्रको मात्र नभई बाह्य जगतको पनि चासो रहेको छ । सभापतिको मुख्य दाबेरदारमध्येका प्रकाशमान सिंहको गृह प्रदेश भएकाले पनि सबैको चासो बढेको हो ।

सिंहले बागमती प्रदेश अधिवेशनलाई प्रतिष्ठाको विषय बनाएका छन् । उनी शुक्रबार नै हेटौंडा पुगेर सक्रियता बढाइसकेका छन् ।

बागमती प्रदेशमा १९६० मतदाता छन् । सभापतिसहित क्षेत्रीय महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र प्रदेश महाधिवेशन प्रतिनिधिका अलावा जिल्ला सभापतिहरु मतदाता छन् ।

अहिलेसम्म बागमती प्रदेशको १३ जिल्लामध्ये १० जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । क्षेत्रीय अधिवेशन सकिएको ३ जिल्लामा पछि अधिवेशन गर्ने तय भएको छ । १० मध्ये संस्थापनले ५ र संस्थापन इतरले ५ जिल्लामा सभापति जितेको छ । प्रदेश क्षेत्रहरुमा पनि सबैजसोमा जिल्ला सभापति जित्नेले प्रदेशमा पकड बनाएको छ ।

बागमती प्रदेशमा सभापतिका दाबेदार प्रकाशमान सिंहले बलियो पकड बनाएका छन् । उनी पक्षधरले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, दोलखा र धादिङमा बढी प्रतिनिधि जितेका छन् । काठमाडौं उपत्यकामा सिंह पक्षधरको ६० प्रतिशतभन्दा बढी प्रतिनिधि चयन भएका छन् ।

सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री डा. प्रकाशशरण महत एकजुट हुँदा पनि सिंह उपत्यकाभित्र बलियो देखिए । त्यसको असर अन्यत्र पनि पर्यो । तर, उनको शक्ति बागमती प्रदेशको चुनावमा हुने देखिएको छ ।

बागमतीका ३३ निर्वाचन क्षेत्रमध्ये २० मा संस्थापन इतर समूह बलियो छ । प्रदेश निर्वाचन क्षेत्रहरुमा पनि यही स्थिति छ । तर, काँग्रेस कार्यकर्ताहरुले उम्मेदवारलाई पनि हेर्ने भएकाले तिव्र प्रतिष्पर्धा हुनसक्छ ।

संस्थापन पक्षबाट इन्द्र बाँनिया प्रदेश सभापतिको उम्मेदवार घोषणा गरेर बढिसकेका छन् । संस्थापन इतरबाट जगदीश्वरनरसिंह केसी उम्मेदवार बन्दैछन् । सिटौला समूहबाट भीमसेनदास प्रधानको उम्मेदवारी घोषणा भइसकेको छ । बानियाँ र प्रधानमध्ये एकले अर्कालाई सघाउने सम्भावना पनि छ । दुवै देउवासँग नजिक छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रतिष्ठाको विषय बनाएको बागमती प्रदेशको निर्वाचनमा जगदीश्वरनरसिंहका लागि अर्जुननरसिंह केसी मात्र नभई गगन थापा समेत खटिएका छन् ।

बानियाँका लागि देउवा आफै सक्रिय छन् । सहमहामन्त्री प्रकाशशरण महत पनि खटिएका छन् । तर, सभापतिको दाबेदार सिंहको पकड १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा रहेको, चितवनमा देउवाप्रति असन्तुष्टि रहेको कारण बागमती देउवा पक्षका लागि कठिन बन्न सक्छ ।

बागमतीमा सिंहको प्रदर्शनले पनि उनको सभापतिमा उम्मेदवारीको दाबेदारी कतिसम्म बलियो हुने निक्र्यौल गर्नेछ । यसकारण पनि बागमती काँग्रेसको चुनावलाई देशभित्र र बाहिरबाट चासोका साथ हेरिएको छ । सिंहका लागि यो परीक्षाको घडी पनि बनेको छ ।



प्रतिक्रिया दिनुहोस्