Logo

१० वर्ष काम गरेका आंशिक शिक्षकलाई स्वतः स्थायी गर्ने तयारी



काठमाडौं, मंसिर १७ । त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि कार्यरत आंशिक र करार शिक्षकलाई स्वतः स्थायी गर्ने प्रपञ्च शुरु गरेको छ । शैक्षिक योग्यता र कार्यदक्षताको आधारमा पदपूर्ति गर्ने जनाए पनि कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको दबाबमा त्रिविले १ हजारभन्दा बढी आंशिक शिक्षकलाई स्थायी गर्ने प्रकक्रया शुरु गर्ने तयारी गरेको छ ।

चार दिनअघि सम्पन्न सिनेट बैठकले लामो समयसम्म अस्थायी वा करार सेवामा रही विश्वविद्यालयको सेवामा संलग्न रहेका शिक्षक र कर्मचारीले प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था गर्न त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम–२०५० परिच्छेद २ नियम ६ बमोजिम संशोधन प्रस्ताव पारित गरेको छ ।प्रस्तावमा त्रिविले आंशिक र करार शिक्षकको पदपूर्ति गर्न उनीहरूकै सेटिङको आधारमा कार्यविधि तयार गरी स्थायी गर्ने षड्यन्त्र शुरु गरेको आरोप त्रिविकै अधिकारीहरूले लगाएका छन् ।

त्रिविका एक अधिकारीले भने– ‘तीन पदाधिकारीले आफ्नो कुर्सी बचाउन उक्त निर्णय गरेका हुन् । सिनेट बैठकले नियम संशोधन गरी पदपूर्ति गर्ने तरीका समेत पारित गरेको छ ।’त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा विश्वविद्यालयको केन्द्रीय कार्यालयको स्वीकृतिमा स्थायी, अस्थायी वा करार सेवामा अटुट १० वर्ष सेवा गरेका शिक्षकको मात्र प्रतिस्पर्धा गर्न पाउनेगरी उपप्राध्यापक पदमा स्थायी गर्न सक्ने उल्लेख छ । सोही बुँदामा ठेक्का करार अवधिअघि १० वर्षसम्म सेवा गरेका कार्यालय सहयोगीलाई समेत स्थायी गर्न सक्ने निर्णय गरिएको छ । सो निर्णयको आधारमा केही कार्यालय सहयोगी मात्र स्थायी हुनेछन् । बाँकी सयौं कर्मचारी करारमै रहनेछन् ।

बैठकले आंगिक क्याम्पसमा लगातार एक वर्ष वा सोभन्दा बढी अवधि काम गर्ने शिक्षकलाई त्रिवि सेवा आयोगको सेवा प्रवेशको खुला विज्ञापनमा आवेदन दिन सक्ने व्यवस्था गरेको छ । यो निर्णयले त्रिविको शिक्षक परीक्षाको तयारीमा लागेका सयौं विद्यार्थीलाई गम्भीर असर पर्ने देखिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्