Logo

गोलाप्रथाबाट पेशी तोकियो तर न्याय सम्पादन हुन सकेन



काठमाडौं, मंसिर १७ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अनुपस्थितिका कारण अन्योलका बीच सर्वोच्च अदालतमा बिहीबार गोलाप्रथाबाट पेशी तोकिए पनि न्याय सम्पादन हुन सकेन ।

सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा उपचार गराइराखेका प्रधानन्यायाधीश जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा पेशी तोक्ने कार्यमा अन्योल उत्पन्न भएको हो ।

प्रधानन्यायाधीशको अनुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी कसको हो भन्ने प्रस्ट नहुँदा इजलास गठनमा मात्र ढिलाई भएको नभई मुद्दाको सुनुवाई समेत हुन नसकेको हो । बिहीबार १० वटा इजलास गठन गरिएको थियो । ती इजलासमा जम्मा १ सय ९२ मुद्दा सुनुवाइका लागि राखिएका थिए ।

मुद्दाको सुनुवाइका लागि पेशी सूची प्रकाशित गर्नु पहिलो काम हो । सामान्यतया १० देखि ११ बजेभित्रमा मुद्दाको पेशी तोक्ने गरिन्छ । तर, बिहीबार १ बजेसम्म पनि पेशीसूची प्रकाशित हुन सकेन । बुधबार इजलास गठन भएको केही घण्टामा नै बारका पदाधिकारीहरूले प्रश्न उठाएपछि कुनै पनि इजलासमा मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

बिहीबार पनि सर्वोच्चका न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच भएको छलफलमा बारले कार्यवाहक प्रधानन्यायाधीश को हो रु भन्दै प्रश्न उठाएपछि बेन्च बस्न नसकेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

छलफलको बीचमा न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशलाई फोन गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। त्यसक्रममा जबराले कार्यवाहकको कुरामा नअल्झिन भन्दै आफू अदालत आउने जवाफ दिएका छन् । यसअघि गोला तान्दा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास बनेको थियो ।

यस्तै, न्यायाधीशहरू मीरा खड्का र नहकुल सुवेदीको दुईवटा संयुक्त इजलास गठन भएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको पूर्ण इजलास गठन भएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्