Logo

योगेश भट्टराईको प्रश्न–‘पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीशलाई निर्देशन गर्ने अधिकार कहाँ छ ? (भिडिओसहित)



काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित सचिव योगेश कुमार भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमत ल्याउने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अध्यक्ष ओलीको नेतृत्वमा चुनावमा जाँदा एमालेले बहुमत ल्याउँछ। यो सम्भावना धेरै छ ।’ उनले प्रचण्ड र माधव नेपालको पार्टीसँग चुनावमा आफूहरुको चुनावी तालमेल हुने सम्भावना कम रहेको जिकिर गरे । उनले एमालेले भविष्यमा सबै कम्युनिष्टलाई एक बनाउने पनि दाबी गरे । उनले भने,‘हामीले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढेका छौं । अब एमाले अघि बढ्यो ।’

उनले अदालतलाई विवादमा तान्ने काम कतैबाट पनि हुन नहुने बताए । उनले भने,‘अहिले त न कार्यपालिका सही ठाउँमा छ, न व्यवस्थापिका सही ठाउँमा छ, न न्यायापालिका सही ठाउँमा छ, यो गठबन्धनले त सर्वत्र भत्कायो नि । न्यायायलाई त भत्काईसक्यो । न्यायालयप्रतिको आस्था र विश्वास हेर्नुहोस त, सडकमा छताछुल्ल गरिरहेका छन् । कालो कोटवालाहरु लडाई गरिराख्नुभएको छ । न्यायालयभित्र बास्तवमा ईतिहासमै नभएको गलत घट्नाहरु घटिरहेका छन् । कसको कारणले हो ? त्यो त हेरौं । तर, यसमा के भन्छु भने पहिलेदेखि नै मैले भन्दै आएको छु कि यसमा प्रधानमन्त्रीले जवाफदेही हुनुपर्छ । किनकी यो विषय उहाँले पार्लियामेन्टमा छलफल गराउनुपर्दथ्यो । पार्लियामेन्ट उहाँले बन्द गराउनुभयो । अहिले संसद् बोलाउनुभएको छ। अदालतको मुद्दा चलिरहेको बेला, उहाँले संसद् बन्द गराउनुभयो ।’ उनले ऋषि धमलालाई जनता जान्न चाहन्छन् म प्रश्न सोध्छु भन्दै भने–‘पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीशलाई निर्देशन गर्ने कहाँ छ अधिकार ?’उनले पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई निर्देशन दिने अधिकार नभएको दाबी गरे । उनले भने,‘पाँच दललाई त्यो भन्ने अथोरिटी कहाँ छ ?’

पाँच दललाई प्रधानन्यायाधीशविरुद्ध महाभियोग ल्याएर देखाउन पनि चूनौति दिए । उनले भने,‘महाभियोग एउटामाथि मात्रै लाग्छ र ? महाभियोग लगाउने संख्या त एमालेसँग पनि छ नि । ऋषिजी, महाभियोग लगाउने संख्या एमालेसँग छैन र ? एमालेको समर्थनबिना महाभियोग प्रस्ताव पास हुँदैन् । एमाले एक्लैले महाभियोग लगाउने संख्या छ । तर, त्यो संख्या एक्लै अहिले कांग्रेस र माओवादीसँग छैन् ।’



प्रतिक्रिया दिनुहोस्