Logo

विवाह पञ्चमी महोत्सवका लागि जनकपुरधाममा विशेष सरसफाइ अभियान



धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी आजदेखि जनकपुरधाम नगर क्षेत्रभित्र सरसफाइ अभियान सुरु गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण लामो समयदेखि फोहर उठ्न नसक्दा जनकपुरधाम नगर क्षेत्रका सडकमा फोहरको डङ्गुर लागेर दुर्गन्ध फैलिन थालेपछि नगर क्षेत्रमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा सुरु भएको विशेष सरसफाइ अभियानको आज बिहान प्रदेश नं २ का उद्योग, पर्यटक, वन तथा वातारणमन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायतले संयुक्तरूपमा उद्घाटन गरे ।

उपमहानगरपालिकाको सात टोलीसहित सुरक्षा निकाय र सङ्घसंस्थाका प्रतिनिधिसमेत गरी नगर क्षेत्र सरसफाइका लागि १० वटा टोली परिचालन गरिएको नगरप्रमुख साहले बताए । “आजदेखि सप्ताहव्यापीरूपमा सुरु भएको विवाह पञ्चमी महोत्सवलाई ध्यानमा राखेर सरसफाइ अभियानको सुरुआत गरिएको छ”, नगरप्रमुख साहले भने, “विविध कारणले नगर क्षेत्रको फोहर उठ्न सकेको थिएन, तर ढिलै भए पनि सबै पक्षको सहयोगमा सरसफाइ अभियान सुरुआत गरिएको हो ।” यो अभियान अब नियमितरूपमा चल्ने उनको भनाइ थियो ।

नगर क्षेत्रको चारैतिर परिचालन भएको टोलीले सडक र गल्लीहरूमा सरसफाइ गर्ने र यसरी सङ्कलित फोहर हालका लागि बनाइएको अस्थायी डम्पिङसाइटमा फ्याँकिने नगरप्रमुख साहले बताए । विवाह पञ्चमी महोत्सवलाई ध्यानमा राखी नगर क्षेत्रको विभिन्न स्थानमा अस्थायी शौचालय निर्माणको कामसमेत अघि बढाइसकेको नगरप्रमुख साहले जानकारी दिए ।

धार्मिक, सांस्कृतिक महत्व बोकेको सीताराम विवाह पञ्चमी महोत्सवमा नगर क्षेत्रलाई सफा र स्वच्छ बनाउन ढिलै गरी भए पनि सरसफाइ अभियान सुरुआत गरिनु सकारात्मक भएको प्रदेश नं २ का उद्योग, पर्यटक, वन तथा वातारणमन्त्री सत्रुधन महतोले बताए ।

“यो अभियान पहिला नै सुरु गरिनुपर्दथ्यो”, मन्त्री महतोले भने, “तर ढिलै भए पनि राम्रो कामको सुरुआत भएको छ, यसमा सबैको साथ सहयोग चाहिएको छ ।” जनकपुरधामलाई कसरी सफा, स्वच्छ बनाउन सकिन्छ भन्नेबारेमा सबैले सोच्नु जरुरी रहेको उनको कथन थियो ।

जनकपुर नगर क्षेत्रमा फोहर उठ्न नसकेको भन्दै चौतर्फी गुनासो उठ्न थालेपछि आफूले फोहर व्यवस्था गर्न पहिलेदेखि नै पहल गरे पनि उपमहानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबीचको विवादका कारण नसकिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए ।

“फोहरले नगर नै दुर्गन्धित भयो भनेर धेरैतिरबाट गुनासो आएपछि म आँफैले फोहर व्यवस्थापन गर्न पहल गरेँ, तर न त नगरप्रमुख यसबारेमा गम्भीर हुनुभएको थियो, न त वडाध्यक्षहरू नै”, प्रजिअ बाँस्तोलाले भने, “तर लामो समयको पहल र प्रयत्नपछि सबैको सहयोगमा जसरी सरसफाइ अभियानको शुभारम्भ भएको छ त्यो खुशीको कुरा हो ।” सरसफाइ अभियानसँगै अब जनकपुरधाम नगर क्षेत्र सफा र सुन्दर हुने भएकाले यसलाई निरन्तररूपमा अघि बढाइरहनुपर्ने प्रजिअ बाँस्तोलाको भनाइ छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्