Logo

युक्रेनको विषयमा अमेरिका र रुसबीचको तनाव पुनः बढ्दै



एजेन्सी, १७ मङ्सिर। अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लीनकन र रुसी विदेश मन्त्री सर्गेई लाभरोभबीच भेटवार्ता सम्पन्न भएको छ । बिहीबार भएको युरोपमा सुरक्षा र सहयोग संगठनको शिखर सम्मेलनमा उनीहरुबीच साइडलाइन भेतवार्ता भएको हो ।

युक्रेनको विषयमा अमेरिका र रुसबीचको तनाव पुनः बढ्दै गएको अल्जजीरामा उल्लेख छ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिका छिट्टै नै युरोपमा मध्यम दूरीसम्म प्रहार गर्न सक्ने मिसाइल तैनाथ गर्ने दिशामा अघि बढिरहेको बताएका छन्।

हिजो (बिहीबार) एक भाषणको क्रममा विदेशमन्त्री लाभरोभले अमेरिकाका यस किसिमको कार्यले आगामी दिनमा युरोपको रणनीतिक स्थिरतामा खतरा उत्पन्न हुन सक्ने आशंका व्यक्त गरे । अमेरिकाको यस किसिमको कार्य भड्काउने किसिमको रहेको भन्दै यसले सैन्य टकरावको अवस्था आउन सक्ने लाभरोभले बताएका छन्। उनले पछिल्लो समय अमेरिका र उसका सहयोगी मुलुकलाई जोखिमपूर्ण घटना न्यूनीकरणका लागि गरेको प्रस्ताव अस्वीकृत भएको बताएका छन्।

बीबीसीका अनुसार लाभरोभले पछिल्लो समय अमेरिकी गठबन्धनका मुलुकले रुसका रोमानिया र पोल्याण्डनजिकै सैन्य पूर्वाधार विकास गरिरहेको आरोप लगाएका छन्। यसअघि युक्रेनले आफ्नो सीमा क्षेत्रमा रुसले ९० हजारभन्दा धेरै सैनिक परिचालन गरेको बताएको थियो। यस्तोमा रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका बढेको थियो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसलाई युक्रेनमाथि आक्रमण गरे त्यसको गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्। रुसी समकक्षी लाभरोभसँगको वार्तामा ब्लिन्केनले यस्तो बताएका हुन्। वार्ताको क्रममा लाभरोभले भने रुस युक्रेनबारे वार्ताको लागि तयार रहेको बताएका थिए।



प्रतिक्रिया दिनुहोस्