राप्रपाको केन्द्रीय सदस्यमा सुन्दर पाण्डेको उम्मेदवारी


काठमाडौं, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्य पदमा सुन्दर प्रसाद पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंको भृकुटिमण्डपमा बुधबारबाट सुरु भएको राप्रपा महाधिवेशनमा पुर्व केन्द्रीय सदस्य समेत रहेका नुवाकोट सुनखानीका पाण्डेले शुक्रबार केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।

विद्यार्थी जीवनदेखि राजनीतिमा लागेका नेता पाण्डेले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न, भ्रष्टाचार, विसंगती र राजनितिक अराजकतालाई अन्त्य गर्न आफुले उम्मेदवारी दिन लागेको बताए । उनले राजेन्द्र लिङदेनको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

रिपोर्टर्स नेपालसँग कुरा गर्दै पाण्डेले भने, ‘वैदिक सनातन परम्परमा चलेको सुन्दरतालाई बचाइराख्न र नेपाली–नेपाली बीचको एकतालाई कायम गर्न मेरो उम्मेदवारी रहेको छ ।’ उनले स्वदेशी उत्पादनलाई स्वदेशमै प्रयोग गर्न विदेशमा रहेका ६० लाख युवालाई देशभित्रै रोजगारी सिर्जना गर्न अहम भुमिका खेल्ने समेत प्रतिवद्धता गरे ।

नेता पाण्डेले राप्रपाले अहिले अवलम्बन गरेको नयाँ नीति सक्रिय सदस्यताको आधारले प्रतिनिधि छनौट हुने हुँदा आगामी अधिबेशनपछि आर्शिवादबाट पद प्राप्त गर्ने प्रक्रियाको अन्त्य हुने पनि जिकिर गरे । उनले भने, ‘सक्रिय राजनीति गर्ने कार्यकर्ताको मुंल्याकन हुन्छ भन्ने विश्वासको साथ तमाम युवाहरुलाई राप्रपामा आवद्ध गर्न म जस्तो राप्रपाको केन्द्रीय सदस्य भएमा युवाको अहम भुमिका निर्वाह गर्न पार्टीमा जोडदार आवाज उठाउने छु ।’ उनले सम्पुर्ण प्रतिनिधिलाई शुभकामना दिँदै अमुल्यको मतको अपेक्षा राखेको बताए ।