Logo

रामजानकी विवाहपञ्चमी महोत्सव सुरु



–अजयकुमार साह धनुषा, १७ मङ्सिर:  जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत्रूपले शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको छ ।नगर दर्शनमा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालकलाई जानकी मन्दिरको प्राङ्गणबाट मिथिलानगर घुमाइने मन्दिरका सह–महन्त रामरोशनदास वैष्णवले जानकारी दिनुभयो ।

नगर दर्शन हेर्न जानकी मन्दिरमा आजका दिन श्रद्धालुको भक्तजनको भीडले राम र लक्ष्मणलाई फूल बर्षाएर स्वागत गर्दछन् । आजदेखि सुरु भएको महोत्सव मङ्सिर २३ गतेसम्म चल्नेछ । भोलि शनिबार फूलबारी लीला, मङ्सिर १९ गते धनुषयज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर तथा विवाह र २३ गते रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।

मङ्सिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव भव्यरुपमा मनाइने गरिन्छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल र भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् ।

त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बरका लागि प्रतिस्पर्धामा राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा यस महोत्सवको आयोजना हुँदै आएकोे महन्थ रामतपेश्वर दास वैष्णवले जनाउनुभयो ।

गोस्वामी तुलसी दासको रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा ३३ कोटी देवी देवताको उपस्थिति थियो । सीतालाई छोरी वा बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाइलगायत अन्य धर्मावलम्बी पनि सामेल हुँदै आएका छन् । महोत्सवका क्रममा मिथिलाको संस्कृतिअनुसार तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार पनि हुने गरेको छ ।

पौराणिक व्यवस्थाअनुसार राममन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोलीमा राखी रङ्गभूमि पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा पु¥याइन्छ । रङ्गभूमिमा स्वयम्बरका साथै वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ ।

महोत्सवका लागि तयारी

महोत्व मनाउनका लागि जानकी मन्दिरमा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्यरुपमा मनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ वैष्णवले सबैलाई आग्रह गर्नुभएकामा सर्वपक्षीय बैठकले विभिन्न समिति उपसमिति गठन गरेको छ । जस्मा शान्तिसुरक्षा, प्रचारप्रसार, बजार व्यवस्था, रङ्ग भूमिमा द्वार निर्माण, स्वास्थ्योपचारका साथै पण्डाल, सवारी साधान र ट्राफिक व्यवस्थापन जस्ता उसमिति गठन गरेर भक्तजनको सुविधाका लागि कार्यरत रहेको उहाँको भनाइ थियो ।
अयोध्याबाट जन्ती नआउने

महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने गरेकामा केही वर्षदेखि रोकिएको र यस वर्ष पनि नआउने भएको छ । विधि पु¥याउनका लागि भने केही मात्रामा साधुसन्त तथा महन्थ आउने महन्थ दासले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण फैलिएदेखि अयोध्याबाट विवाहपञ्चमीमा जन्ती आएका छैनन् ।

जनकपुरधाममा हुने विभिन्न महोत्सवमध्ये सबैभन्दा ठूलो महोत्सवका रूपमा रामजानकी विवाह पञ्चमीलाई लिइन्छ । विगत दुई वर्ष कोरोनाले महोत्सवलाई पनि असर पारेकामा यस वर्ष भने केही सहज हुने विश्वास गरिएको छ । दुवै देशमा कोरोना अहिले नियन्त्रणको अवस्थामा रहेकाले महोत्सवमा अत्यधिक भीड हुने अनुमान गरिएको छ ।

महोत्सवको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्सवका लागि तयारीमा जुट्न सरोकार निकायलाई निर्देशन दिनुभएको छ । बुधबार प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठकमा उहाँले यो महोत्सव प्रदेशको धरोहर भएकाले यसलाई भव्य र सभ्य बनाउन सबै निकायलाई निर्देशन दिनुभएको हो ।मुख्यमन्त्री राउतले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिँदै आवश्यक सहयोग प्रदेश सरकारले पनि गर्नेे प्रतिबद्धता जनाउनुभयो ।महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारकोतर्फबाट मूल नाकाहरूमा प्रवेशद्वारा निर्माण गर्नाका साथै खानेपानीको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई भनिएको थियो ।

जनकपुरधाममा सरसफाई

महोत्सवलाई दृष्टिगत गरी जनकपुरधाममा बृहत् सरसफाइ अभियान आयोजना गरिएको छ । विवाहपञ्चमीको मूल कार्यक्रम हुने जानकी मन्दिर, रङ्गभूमि मैदानलाई केन्द्रित गरेर सरसफाइ गरिएको हो । सह महन्थ वैष्णवको अगुवाइमा भएको सरसफाइमा प्रदेश नंं २ का मुख्यमन्त्री राउतसहितविशिष्ट व्यक्तिको सहभागितो थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, सुरक्षा निकायका प्रदेशका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितका सुरक्षा निकायको सहभागितामा भएकोसरसफाइ मा तीनवटै सुरक्षा निकायका पदाधिकारी र उपमहानगरपालिकाका प्रतिनिधि तथा सफाइकर्मीको उल्लेख्य सहभागिता थियो ।

महोत्सवभर माछामासु र मदिरा प्रतिवन्ध

विवाहपञ्चमी महोत्सव अवधिभर जनकपुरधाम क्षेत्रमा माछा–मासु, मदिरा तथा लागुपदार्थ सेवन र बिक्रीवितरणमा रोक लगाइएको छ । उपमहानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै मङ्सिर १७ देखि २६ गतेसम्म नगरक्षेत्रमा माछामासु, मदिरा तथा लागुपदार्थ सेवन र बिक्रीवितरणमा रोक लगाइएको जनाएको हो ।आज शुक्रबारदेखि सुरु हुन लागेको रामजानकी विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै मङ्सिर २६ गतेसम्म माछामासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्रीवितरण गर्न पूर्ण निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्