Logo

गार्डको हत्या गरी रकम लुटपाट गर्ने २ जना पक्राउ



दोलखा, १७ मंसिर । सहकारीका सुरक्षागार्डको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । गौरीशंकर गाउँपालिका–१ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्ण बहादुर खड्काको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उक्त गाउँपालिका–१ जुगु बस्ने २७ वर्षीय विक्रम कार्की र सोही ठाउँ बस्ने २० वर्षीय सुमन कार्की रहेका छन् ।

पूर्ण बहादुरलाई गत कार्तिक १० गते अज्ञात समूहले नियन्त्रणमा लिई उक्त सहकारीबाट नगद १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटपाट गरी फरार रहेकोमा गौरीशंकर गाउँपालिका–१ जुगुस्थित जंगलमा हातखुट्टा डोरीले तथा मुख खादाले बाँधिएको र निधारमा घाउचोट लागेको अवस्थामा कात्तिक १२ गते उनको शव फेला परेको थियो ।

उक्त घटनाको अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले विक्रमलाई काठमाडौं महानगरपालिका(३२ तिनकुने र सुमनलाई काठमाडौं महानगरपालिका(६ चुच्चेपाटीबाट पक्राउ गरेको हो । साथै घटनास्थलबाट लुटिएको मृतकको १ थान मोबाइल र सहकारीबाट लुटिएको रकममध्ये १ लाख ३८ हजार २ सय ६५ रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाईएको उक्त ब्यूरोले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्