Logo

यूरेनियम जस्तो देखिने टल्किने पदार्थ सहित ३ जना पक्राउ



काठमाडौं, १७ मंसिर । यूरेनियम जस्तो देखिने टल्किने पदार्थ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरपालिका–१६ बालाजु बसन्तनगरस्थित गेष्ट हाउसबाट १ किलो २ सय ग्राम यूरेनियम जस्तो देखिने टल्किने पदार्थ सहित ३ जना बुधबार साँझ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका–६ घर भएका ३१ वर्षीय प्रदिप घिमिरे, काठमाडौं मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका–२ घर भएका ३१ वर्षीय राजेन्द्र परियार र काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ बस्ने ३६ वर्षीय रंजित कार्की रहेका छन् ।

गेष्ट हाउसमा युरेनियम जस्तो देखिने टल्किने पदार्थको अवैध कारोबार भइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उक्त पदार्थ प्रति किलो २ करोडका दरले किनबेच हुन लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई बरामद सामान सहित आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्