Logo

अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारमा छिर्न नदिएको भन्दै कानून व्यवसायीहरु आक्रोशित, आईतबार पनि यस्तै व्यवहार गरे नछोड्ने चेतावनी



काठमाडौं, १७ मंसिर । बारको कार्यालयमा छिर्न नदिएको भन्दै स्वतन्त्र कानून व्यवसायीहरु आक्रोशित भएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठकै निर्देशनमा आफूहरुलाई बारको कार्यालयमा छिर्न नदिईएको अधिवक्ता भूमिनन्द चुँडालले जनाए ।

उनीहरुले आज आफ्नो माग राखेर बारका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । तर, स्वतन्त्र कानून व्यवसायीहरुलाई बारको कार्यालयभित्र प्रवेश गर्न दिईएन ।

उनीहरुले आफूहरुलाई गेटमै रोक्ने प्रयत्न गरिएको पनि गुनासो पोखे । बारका पदाधिकारीले उनीहरुलाई भेट्नको लागि अब आईतबार दिउँसो ३ बजेको समय दिएका छन् । तर, त्यो दिनपनि त्यस्तै व्यवहार गरिए ठीक नहुने उनीहरुको चेतावनी छ ।

नेपाल बारले गलत उद्देश्य राखेर न्यायालयलाई नै अस्तव्यस्त गराउन आन्दोलन गरेको भन्दै स्वतन्त्र कानून व्यवसायीहरुले प्रतिकार गर्दै आएका छन् । उनीहरुले आज (शुक्रबार) पनि बारको आन्दोलनविरुद्ध प्रदर्शन जारी राखेका छन् । स्वतन्त्र कानून व्यवसायीहरुले नयाँ बानेश्वरस्थित् एभरेष्ट होटल अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनलाई सम्बोधन गर्दै अधिवक्ता भूमिनन्द चुँडालले सर्वोच्च अदालतमा गोला प्रथा लागु भएपछि पनि अदालतमा अवरुद्ध गरिनु गलत भएको विचार राखे । उनले हड्ताली न्यायाधीशहरुविरुद्ध कडा असन्तुष्टि पोखेका थिए । उनले बेन्च बस्न नभ्याउने भए के दिनभरि उठेरै बसे ? आफ्नो बेन्चमा बस्न नि नसक्ने कस्तो श्रीमान्‌हरु ? भन्दै प्रश्न गरेका थिए ।

उनले अदालतमा अवरोध जारी राख्दा जनताले ठूलो मार भोग्नुपरेको पनि चिन्ता व्यक्त गरे । चँुडालले बन्दी प्रत्यक्षीकरणका मुद्दा २४ घण्टा हेर्नु पर्नेमा त्यसो नगर्दा ३०(३५ दिनसम्म पालो आउने कि नआउने भन्ने अन्योल रहेको र गैरकानुनी रुपमा नागरिकहरु थुनिएको र हिरासतमा रहेको अवस्था पनि सुनाए ।

उनले बारले गलत नियत राखेर आन्दोलन गरेको भन्दै सर्वसाधारण जनताबाट पनि आलोचना हुन थालेको छ। यस्तो अवस्थामा अब आफूहरुले बारकै प्राङ्गणमा उभिएर चूनौति दिने अवस्थामा पुग्नेपनि चेतावनी दिए । चँुडालले आफुहरु स्वतन्त्र कानून व्यवसायी भएकोले स्वतन्त्र न्यायापालिकाको गरिमा जोगाउनको लागि जस्तासुकै संघर्षमा पनि उत्रिन तयार हुने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्