Logo

ग्रिन सिग्नल पाएपछि नेविसंघ पूर्वसभापति रञ्जीत कर्ण प्रदेश २ को सभापतिको दौडमा



काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेस प्रदेश २ को सभापतिमा संस्थापन इतर समूहले अझै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । उक्त समूहले सीतादेवी यादव, रामकृष्ण यादव, किरण यादवसहितको कमिटीले सभापतिको उम्मेदवार टुंगो लाउन नसकेपछि नेविसंघका पूर्व सभापति रञ्जीत कर्ण अगाडि बढेका छन् ।

कर्ण सप्तरीबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएपछि जनकपुर पुगेका हुन् । उनी जनकपुरमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका निवासमा पुगेर छलफल गरेको बुझिएको छ ।

केन्द्रबाट संस्थापन इतर समूहका नेताहरुसँग छलफलपछि कर्ण सभापतिको उम्मेदवारी दिन जनकपुर पुगेको बुझिएको छ । उनी कोइराला परिवार र प्रकाशमान सिंह दुवैका लागि मान्य हुने उम्मेदवार हुन् । प्रदेश २ मै सक्रिय रहेर महिनौंसम्म उनले आफ्नो समूहलाई जिताउन भूमिका खेलेका थिए ।

प्रदेश १ मा नेविसंघ पूर्वअध्यक्ष गुरुराज घिमिरे र कर्णाली प्रदेशमा पनि नेविसंघको राजनीतिमा बढेका भूपेन्द्रजङ्ग शाही संस्थापनइतर समूहबाट उम्मेदवार तय भइसकेका छन् । इतर समूहले विद्यार्थी राजनीतिबाट आएका कर्णलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउनेबारे छलफल बढाएको छ ।

संस्थापन इतर समूहबाट उम्मेदवार तय नभइसक्दा सभापति शेरबहादुर देउवा समूहबाट रौतहटका पूर्वसभापति कृष्ण यादव र उपसभापति विमलेन्द्र निधिको समूहबाट रामसरोज यादव उम्मेदवार तय भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्