Logo

काँग्रेस गण्डकी प्रदेशः कस्को कति शक्ति



काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेस गण्डकी प्रदेश वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहक्षेत्र हो । महामन्त्री डा. सशांक कोइराला पनि यही क्षेत्रबाट निर्वाचित सांसद हुन् । यसकारण पनि गण्डकी प्रदेशको चुनावमा चासो बढेको छ ।

गण्डकी प्रदेशमा ११ जिल्ला छन् । १८ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको गण्डकीमा संस्थापन पक्षले सिटौला र निधिनिकट समेतको जोड्दा ७ जिल्लामा संस्थापन पक्षले जिल्ला सभापति जितेको छ । ३ जिल्लामा संस्थापन इतर समूहले जिल्ला सभापति जितेको छ । एक जिल्लामा जिल्ला अधिवेशन बाँकी छ ।

गण्डकीमा देउवा पक्षले जिल्ला सभापति बहुमत संख्यामा जितेपनि निकै प्रतिष्पर्धामा जित हासिल गरेको हो । त्यहाँ इतर समूहबीच नै प्रतिष्पर्धा चल्दा देउवा समूहले फाइदा लिनसकेको थियो ।

महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा भने दुवै पक्ष उस्तै संख्यामा आएका छन् । यसकारण पनि त्यहाँको चुनाव प्रतिष्पर्धात्मक हुने देखिन्छ ।

बढी क्षेत्र भएको नवलपरासी पूर्व महामन्त्री डा. सशांक कोइरालाले चुनाव जितेको क्षेत्र हो । त्यहाँ उनको पकड बलियो छ । तनहुँमा महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिमा पौडेल पक्षको पल्लाभारी छ । कास्कीको पनि त्यही अवस्था छ । यसकारण गण्डकीको चुनाव निकै प्रतिष्पर्धात्मक हुने देखिन्छ ।

२ निर्वाचन क्षेत्र भएको बाग्लुङमा कृष्णप्रसाद सिटौलासँग निकट जिल्ला सभापति चुनिएका छन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा विमलेन्द्र निधिसँग निकट रहेका तर संस्थापन पक्ष मानिने उम्मेदवारले जिल्ला सभापति जिते । यसकारण यहाँको भिडन्त रोचक हुन्छ ।

कास्कीको राजनीतिमा लामो समययता रहेका शुक्रराज शर्मा संस्थापन इतरका उम्मेदवार हुन् । संस्थापनबाट अर्जुनप्रसाद जोशी उम्मेदवार छन् । भेट्रान नेता शर्मा र जोशीबीचको प्रतिष्पर्धा रोचक हुने देखिन्छ । ११ सय मतदाता रहेको गण्डकीमा हारजीतको टुंगो एक सयको हाराहारी अन्तरले मात्र हुने देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्