Logo

राप्रपा महाधिवेशनः नेतृत्व चुन्न आज मतदान हुँदै



काठमाडौं, मंसिर १८। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदै छ । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

राप्रपाले यसअघिका महाधिवेशनमा अध्यक्ष चुन्न मात्रै मतदान गर्ने गरेकोमा यसपटक अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन गर्न लागेको हो । १ सय ९९ सदस्यीय कार्यसमितिमा बाँकी भने मनोनीत हुन्छन् । राप्रपाले जारी महाधिवेशनबाटै ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी संशोधित विधान अनुमोदन गरेको हो ।

राप्रपाको जारी महाधिवेशनबाट भइरहेको नेतृत्व चयनको प्रक्रियालाई राजनीतिक वृत्तबाट चासोका साथ हेरिएको छ । बुधबार सुरु राप्रपाको महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष तहबाट गरिएको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाटै नेतृत्व चयन गर्नेगरी प्रक्रिया अघि बढेको हो ।

थापा समूहबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान उम्मेदवार छन् । तर थापाले उपाध्यक्ष राखेका विक्रम पाण्डे भने लिङ्देनतर्फ खुलेका छन् । उनी लिङ्देनसँगै चुनावी प्रचारमा उभिएका छन् । थापाले महिला उपाध्यक्षमा रोशन कार्कीलाई उम्मेदवार बनाएका छन् । यस्तै, तीन सदस्यीय महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही उम्मेदवार छन् ।

यसैगरी, लिङ्देनले पनि उपाध्यक्षमा पाण्डेलाई राखेका छन् । उनी लिङ्देनतर्फ खुलेपछि थापालाई त्यसको असर पर्ने देखिन्छ । लिङ्देनतर्फबाट उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ मैदानमा छन् । यसैगरी, लिङ्देनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्