Logo

कांग्रेस प्रादेशिक अधिवेशनः प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदै



काठमाडौं, मंसिर १८। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ । देश सङ्घीयतामा गएपछि संविधानमा व्यवस्था भएको सङ्घीय संरचनाअनुसार काँग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको हो ।

प्रदेश अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको निर्वाचन गर्नेछ । मतदाता र प्रदेश कार्यसमिति प्रदेशअनुसार फरक हुनेछ । प्रदेश अधिवेशनमा १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

कतिपय प्रदेशमा सभापति पदमा दुईभन्दा बढीको उम्मेदवारी परेको छ । सभापति पदमा खसेको मतको ५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान गराइने छ । केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश २ मा उम्मेदवारी दर्ता शनिबार मात्रै हुने भएको छ । अरू ६ वटा प्रदेशमा शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ ।



प्रतिक्रिया दिनुहोस्