वाग्मतीमा बानियाँ, केसी र प्रधानको उम्मेदवारी


काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत वाग्मती प्रदेशको सभापतिमा तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। हेटौंडामा शुक्रबार इन्द्र बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधानले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

बानियाँ सभापति शेरबहादुर देउवा पक्षधर हुन्। त्यस्तै केसीलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहको समर्थन छ भने प्रधानलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थन छ। बानियाँ मकवानपुरका, केसी नुवाकोटका र प्रधान काठमाडौंका हुन्।

सभापतिका तीनवटै उम्मेदवारले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। बानियाँको समूहबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दिएका छन्।

त्यस्तै केसीको प्यानलबाट उपसभापतिमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा कञ्चनचन्द्र बादे, रामचन्द्र अर्याल (बादे), सहमहामन्त्रीमा जीवन डंगोल, ऋषिराम घिमिरे र वीरबहादुर तामाङले उम्मेदवारी दिएका छन्।

प्रधान समूहबाट उपसभापतिमभा चन्द्र महर्जन र पर्शुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी,सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिएका छन्।

कांग्रेस वाग्मती प्रदेशको पदाधिकारीमा एक सभापति, २ उपसभापति, २ महामन्त्री, एक महिलासहित ३ सहमहामन्त्री चयन हुनेछन्। प्रदेशस्तरीय कार्यसमिति ९१ सदस्यीय हुन्छ। जसमध्ये ८ जना पदाधिकारी, ४८ जना खुलातर्फ सदस्य र ३५ जना समावेशीतर्फबाट निर्वाचित हुनेछन्।

प्रदेश संरचनापश्चात् पहिलो पटक हुन लागेको कांग्रेसको प्रदेशस्तरीय अधिवेशनको उद्घाटन बिहीबार र मनोनयन दर्ता शुक्रबार राखिएको थियो। शनिबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुने वाग्मती प्रदेश निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिए। करिब २ हजार १ सयजनाले मतदान गर्नेछन्। नागरिक दैनिकबाट