Logo

‘हाम्रो उज्यालो समाज नेपाल’ ले अघि सार्यो देश विकासको भीजन



काठमाडौं, १८ मंसिर । ‘हाम्रो उज्यालो समाज नेपाल’ ले जनता जागरण अभियानबाट समाजलाई बलियो बनाउने भन्दै यो अभियानमा सक्रियताका साथ सहभागी हुन आम नेपाली जनतालाई आह्वान गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर संस्थाले सधंै जनतालाई उर्जा शक्ति दिने लक्ष्य लिएको जानकारी दिइएको छ । कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष डिल्लीराम श्रेष्ठले नेपाली जनताहरु पार्टीका नीतिगत हिसाबले पछि परेको भन्दै अधिकाशं जनताले नयाँ व्यवस्था खोजिरहेको टिप्पणी गरे ।

यस्तै, उनले संस्थाका नीति तथा कार्यक्रमहरु सातै प्रदेशमा सञ्चालन गर्न लागेको जनकारी समेत दिए । श्रेष्ठले देश विकास गर्नको अब तालाचाबी जनताकै हातमा भएको भन्दै यस अभियानमा जुट्न सबैमा आग्रह गरेका छन् । ‘हरेक हप्ता विहान ६ बजेबाट ८ बजेसम्म टोल–टोलबाट वडा कार्यक्रम गर्नेछौं । समाजमा रहेका विभिन्न कमिकमजोरी हटाई देश विकास गर्नसक्ने बाटो जनताकै हातबाट गर्नेछौं । तालाचाबी जनताकै हातमा छ’–उनले भने ।

साथै, उनले आफ्नो संस्थाले भ्रष्टाचार निर्मुल पार्न सकिने विभिन्न प्रावधानहरु तयार पारेको दाबी गर्दै उक्त कार्यक्रमले युवा र महिला वर्गलाई विषेश प्रोत्साहन गर्ने पनि जनाए । उनले जनताका छोराछोरी विदेश जानु नपरोस भन्ने संस्थाको लक्ष्य रहेको पनि सुनाए । र, आफ्नो संस्थाले दिएको मार्गदर्शनअनुसार चल्न सके युवाहरुको भलो हुने श्रेष्ठको दाबी थियो ।

 



प्रतिक्रिया दिनुहोस्