Logo

प्रचण्ड र महराले देखेको देश भित्र र बाहिरबाट ठूलो षड्यन्त्र



काठमाडौं, १८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा ठूलै षड्यन्त्र भइरहेको बताएका छन् । उनले गृहजिल्ला चितवनमा सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र भएको बताएका हुन् ।

प्रचण्डले षड्यन्त्रबारे बोलेकै दिन माओवादीका प्रवक्ता कृष्णबहादुर महराले पनि यसबारे बोले । उनी बुटवल पुगेर बाह्य शक्तिले सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र गरिरहेको टिप्पणी गरेका हुन् ।

प्रचण्डले गठबन्धनलाई कमजोर पारेर परिवर्तन उल्टाउने सम्मको षड्यन्त्र भइरहेको बताए । महराले पनि सत्ता गठबन्धन तोड्न विदेशी शक्ति लागेको बताए । तर, उनले कुन विदेशी शक्ति खुलाएनन् ।

देशभित्र अमेरिकी सहयोगसम्बन्धी एमसीसी संसदमा टेबल गर्ने विषय चर्चामा रहँदा प्रचण्ड र महराको भनाई आएको हो । अर्कोतर्फ, प्रचण्ड प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन सत्ता गठबन्धनमा सहमति बनाउन लागिरहेका छन् ।

एमसीसीबारे २८ मसिरभित्र टुंगो दिन अमेरिकाले नेपालका शिर्ष नेताहरुलाई भेटेरै भनेको छ । अब यही विषयले सत्ता गठबन्धनको भविष्य निर्धारण गर्ने सम्मको अवस्था पैदा भएको छ । गठबन्धभित्र नेपाली काँग्रेस एमसीसीको पक्षमा छ । माओवादी र नेकपा एस यसको विपक्षमा देखिन्छन् । उनीहरुले एमसीसी संशोधनको शर्त राखेका छन् । तर, अमेरिकाले शर्तलाई नमानी टुंगो दिन २८ मंसिरको समयसीमा दिएको छ । यही दिन संसदको बैठक डाकिएको छ ।

एमसीसीको मुद्दा व्यवस्थापन गर्न नसके सत्ता गठबन्धन धरापमा पर्न सक्छ । यही बुझेर प्रचण्ड र महराले एक दिन फरक स्थानबाट देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र देखेका छन् ।-File Photo

महाभियोगको ब्रम्हास्त्रः जोखिममा को को ?

‘जनयुद्ध’ पछि अर्को जोखिम मोल्दै प्रचण्ड

 



प्रतिक्रिया दिनुहोस्