Logo

राष्ट्रिय बाघ गणना आजदेखि



काठमाडौं, मंसिर १९ । राष्ट्रिय बाघ गणना आजदेखि हुँदैछ । चितवन, पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सबाट गणनाको औपचारिक थालनी हुन लागेको हो । यसअघि सन् २०१८ मा बाघको राष्ट्रिय गणना गरिएको थियो । त्यति बेला नेपालको बाघको सङ्ख्या २३५ थियो । यस पटकको गणनामा २५० भन्दा बढी पुग्ने विश्वास गरिएको छ ।

आज वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ गणनामा प्रयोग गरिने अत्याधुनिक क्यामरा चितवन राष्ट्रिय निकुञ्जको जङ्गलमा राखेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एक दशकअघि नेपालले रुसको सेन्टपिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा तत्कालको बाघ सङ्ख्या दोब्बर गर्ने प्रतिबद्धता गरेको थियो । त्यतिबेला नेपालमा बाघको सङ्ख्या १२१ थियो । यो सङ्ख्यालाई दोब्बर गर्दै सन् २०२२ सम्म २५० पु(याउने प्रतिबद्धता नेपालले गरेको थियो । दुर्लभ मानिने बाघ नेपाललगायत विश्वका १३ वटा देशमा मात्र पाइन्छ ।

बाघ पाइने चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको गणना सुरु गर्न थालिएको हो । गणनाका लागि कम्तीमा एक महिनाको समय लाग्ने र १२० जनाभन्दा बढी दक्ष प्राविधिक तथा हात्तीको प्रयोग गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot