Logo

कमल थापाको पराजयको ५ कारण



काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापाको पराजयले राष्ट्रिय राजनीतिलाई तरंगित बनाएको छ । नयाँ पुस्ताका राजेन्द्र लिङ्देनसँग अनुभवी नेता थापा पराजित भएका हुन् ।

लिङ्देन पहिलोपटक झापाबाट निर्वाचित सांसद हुन् । थापा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनी उपप्रधानमन्त्रीसहित गृह, परराष्ट्र, स्थानीय विकास जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालिसकेका नेता हुन् ।

थापाको पारिवारिक पृष्ठभूमि पनि संभ्रान्त खालको छ । उनको परिवारका सदस्यमध्ये सेनाका जर्नेल, एन्फा अध्यक्ष भइसकेका छन् । कर्मचारीतन्त्र देखि विभिन्न निकायमा राम्रो पकड बनाएका थापाको पराजयलाई कतिपयले आश्चर्यजनक मानेका छन् । उनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले हराएको चर्चा पनि छ । थापा स्वयंले त्यस्तो प्रतिक्रिया दिइसकेका छन् ।

कमल थापा पराजित हुनुमा केही महत्वपूर्ण कारणहरु छन् ।

१. कमजोर राजनीतिक भूगोल
कमल थापा राष्ट्रिय राजनीतिमा बलियो रुपमा देखापरेपनि निर्वाचन क्षेत्रमा कमजोर देखिदै आएका छन् । मकवानपुरलाई राजनीतिक भूगोल बनाउँदै आएका उनी बहुदल आएपछि एकपटक मात्र २०५१ सालमा त्यहाँबाट निर्वाचित भएका थिए ।

२०६५ सालमा भएको पहिलो संविधानसभा चुनावमा उनी समानुपातिकतर्फको उम्मेदवार बने । त्यसपछि भएका दुईवटै निर्वाचनमा थापा पराजित भए । मूलधारको राजनीतिक दलको अध्यक्ष भइकन उनी आफ्नै निर्वाचन क्षेत्रमा पटक पटक पराजित हुनुले कार्यकर्ताले कमजोर ठान्न थाले ।

जबकि राप्रपा देशभर हार्दा राजेन्द्र लिङ्देनले झापाबाट चुनाव जिते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्न सक्नुले लिङ्देन भूगोलमा बलियो देखिए । राप्रपा स्थानीय चुनावमा देशभर नगरपालिका तहमा हार्दा धबल शमशेर राणाले जिते । नेपालगञ्ज उपमहानगरपालिकाको मेयर जितेका राणाको पनि भूगोल बलियो देखियो ।

राप्रपाका कार्यकर्ताले भूगोल बलियो भएको नेताको चाहना राखे । लिङ्देन र राणा दुवै लोकप्रीय बने । अर्कोतर्फ, गत वर्ष राजाको पक्षमा हजारौं मानिस सडकमा आउँदा झापामा लिङ्देनले शक्ति प्रदर्शन गरेर देखाए । धबल शमशेरले पनि नेपालगञ्जमा त्यस्तै शक्ति देखाए । जसका कारण राप्रपा समर्थक दुवैप्रति आश्वस्त भए ।

लिङ्देन र धबल शमशेर राणालाई चुनाव हराउने प्रयासहरु भएका थिए । तर, सफल भएनन् । कमल थापालाई धबल शमशेरले नेपालगञ्जमा चुनाव प्रचारमा आउनबाट रोके । उनले भित्रन पनि दिएनन् । राप्रपामा राजनीतिक भूगोल बलियो भएका सुर्यबहादुर थापा थिए । उनलाई दरबार लागेर हराउन खोज्दा पनि धनकुटाबाट सक्दैनथियो । लिङ्देन र राणाको स्थिति त्यस्तै बन्यो । जुन राप्रपा समर्थकले खोजेका थिए ।

२. अस्पष्ट योजना
कमल थापा पछिल्लो समय अस्पष्ट देखिनथालेका थिए । उनले आफूलाई सुर्यबहादुर थापाको उत्तराधिकारीका रुपमा प्रस्तुत गर्न त खोज्थे तर सकेनन् । हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा उठाए तर त्यसमाथि आशंका पैदा हुने गतिविधि गरे । २०७२ सालमा संविधान जारी हुँदा हस्ताक्षर गरे । जसले हिन्दुराष्ट्र र राजसंस्थाका पक्षधरलाई चिढ्यायो ।

राप्रपाले उठाएको मूल मुद्दाविपरितको संविधान अन्र्तगतको सरकारमा कमल थापा उपप्रधानमन्त्री पाएर गए । प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा क्रमशः स्थानीय चुनाव र प्रतिनिधि सभा चुनाव सफल पार्न भन्दै गए । त्यो पनि आफ्नै नेतृत्वमा यसबाट उनी मुद्दा भन्दा सत्ताका भोका हुन् भन्ने सन्देश गयो । उनले मुद्दा बिर्सिएको सन्देश जाँदा २०७४ सालको निर्वाचनमा नराम्रो धक्का खानुपरेको थियो । लिङ्देनबाहेक सबै नेताहरु चुनाव हारे । यसमा थापाको अस्पष्ट योजना र कमजोर रणनीति नै रहेको आरोप लाग्यो ।

३. सैद्धान्तिक रुपमा विचलन
कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था बोलिरहे । तर, उनले यही मुद्दालाई सत्तामा पुग्ने र शक्तिको अभ्यास गरिरहने कार्यशैली देखाएको सन्देश प्रवाह भयो ।

कमल थापालाई कतिपयले गणतन्त्रमा एउटा खुट्टा र राजसंस्थामा अर्को खुट्टा राखेको सम्म भने । उनको हिन्दुराष्ट्र र राजसंस्थाप्रतिको प्रतिवद्धतामा आशंकाहरु उत्पन्न हुने गतिविधिहरु भए । उनमा सुर्यबहादुर थापाको जस्तो जनताको चाहना अनुसारको लाइन समात्ने लोकेन्द्रबहादुर चन्दमा जस्तो एउटै लाइन नछाड्ने शैली पनि देखिएन । २०७२ सालमा जारी भएको संविधानलाई थापाले उत्कृष्ट भन्दै सरकारमा सहभागी भए । यसले राप्रपाभित्र उनीप्रति तिव्र असन्तुष्टि बढ्यो । थापाले सैद्धान्तिक रुपमा दरिलो गरी खुट्टा नटेकेको सन्देश गयो ।

कमल थापाप्रति हिन्दु राष्ट्र र राजसंस्थाका पक्षधरले ठूलो भरोसा गरेका थिए । त्यसमाथि २०७२ सालमा घात भएको सन्देश गइसकेको थियो । उनको जीवनशैली र कार्यशैली हिन्दु राष्ट्र र राजसंस्थाका पक्षधरको भन्दा फरक देखिनथाल्यो । धर्मको मुद्दा सत्तामा पुग्ने खुड्किलो मात्र बनाएको टिप्पणीहरु हुनथाले । राप्रपा समर्थकहरुले उनमा सैद्धान्तिक विचलन आएको देख्न थाले । यसकारण उनी एकता महाधिवेशनमा राप्रपा कार्यकर्ताबाट नेतृत्वमा अस्वीकृत भए ।

४. परिवार र आफ्नालाई मात्र अवसर
राप्रपाभित्र कमल थापाले आफ्नो दललाई राष्ट्रिय पार्टी बनाएर समानुपातिकमा आफन्त र आफूनिकटस्थलाई मात्र समेट्ने शैली अपनाएको आरोप लाग्यो । उनले भाई र परिवारका अरु सदस्यलाई महत्वपूर्ण अवसरहरु दिए । यसले कार्यकर्तामाझ असन्तुष्टि बढ्यो ।

सरकारमा जाँदा जहिले पनि आफ्नो नेतृत्वमा मात्र जाने गरे । अरु नेता कार्यकर्तालाई मौका दिएनन् । भाईलाई सभासद बनाउने देखि भतिज र छोरीलाई केन्द्रीय कमिटीमा लगे । उनी पारिवारिक घेरामा सिमित हुन थाले । आफूनिकटस्थबाहेक कार्यकर्ताहरुको दूरी बढ्न थाल्यो ।

राप्रपा कार्यकर्ताबाट कहिले अनुमोदित नभएका दिपक बोहराको बढी साथ लिए । उनले राप्रपाभित्रको चुनाव लडेका थिएनन् । राप्रपाभित्र कार्यकर्तामाझ बलियो पकड बनाएकाहरु पेलाईमा परे । यसले पनि राप्रपाभित्र थापाप्रति तिव्र असन्तुष्टि बढ्यो ।

५. नयाँ पुस्ताको छाल
राप्रपाभित्र नयाँ पुस्ता छाल बनेर अगाडि बढे । पछिल्लो समय राप्रपाभित्र ठूलो संख्यामा नयाँ पुस्ता आकर्षित भएको देखिन्छ । राप्रपाले उठाएको मुद्दामा जुलुस र सभाहरुमा युवाहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ । यो छाल बनेर बढिरहेको थियो । कमल थापाले यो छाललाई ठम्याउन सकेनन् ।

युवाहरुले कमल थापालाई विश्वास गर्न सकेनन् । उनीहरुले राप्रपामा परिवर्तन चाहे । फलस्वरुप नयाँ पुस्ताका राजेन्द्र लिङ्देन र धबल शमशेरले छलाङ मारे । कमल थापा युवा मतले नै पराजित भए ।

लिङ्देनको जीतको सन्देश



प्रतिक्रिया दिनुहोस्