काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएपछि राष्ट्रिय राजनीतिमा तरंग आएको छ । राप्रपाभित्र तेस्रो पुस्ताका नेता लिङ्देन नेतृत्वमा पुग्दा पहिलो पुस्ता र दोस्रो पुस्तालाई समेत रणनीतिक चार्तुयताका साथ उछिनेका छन् ।
पहिलो पुस्ताका नेता लोकेन्द्रबहादुर चन्दले नयाँ पुस्ताका लागि त्याग गर्नुपर्ने महाधिवेशनमा बोलेका थिए । उनी नेतृत्व नयाँ पुस्तामा दिनुपर्ने पक्षमा थिए । दोस्रो पुस्ताका कमल थापा अध्यक्ष एक कार्यकाल चलाउने चाहनाका साथ बढे । दोस्रो पुस्ताका दुई नेताहरु पशुपति शमशेर राणा कसैको पक्षमा खुलेनन् । प्रकाशचन्द्र लोहनी नेतृत्व हस्तान्तरण गर्ने बेला भइसकेको भन्दै लिङ्देनको पक्षमा खुले । यसरी लिङ्देनले बाजी मारे ।
राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष जित्दा नेपाली काँग्रेसमा पनि त्यसको पराकम्पले केही असर गर्न थालिसकेको छ । काँग्रेसभित्र विभिन्न पुस्ताका नेताहरु छन् । जसमध्ये सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको पुस्ता अझै नेतृत्वमा रहन चाहिरहेको छ । देउवा र पौडेल दुवै सभापतिका मुख्य दाबेदार हुन् ।
उनीहरुपछिको पुस्ताका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु सुजाता कोइराला र डा. शेखर कोइराला पनि सभापतिका दाबेदार हुन् । काँग्रेसभित्र नेतृत्वमा रहेका दुईवटा पुस्तालाई उछिनेर सभापति बन्ने तागत पछिल्लो पुस्ताले बनाउन सकेको छैन ।
बालकृष्ण खाँड, चन्द्र भण्डारी, एनपी साउद, प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल, गगन थापा, कल्याण गुरुङ, रञ्जीत कर्ण जस्ता नेताहरु प्रभावशाली छन् । तर, उनीहरुको नेतृत्वमा पुग्ने चाहना मात्र देखिन्छ सामथ्र्य बनिसकेको देखिदैन । तर, यी नेताहरुले भावी सभापति कस्लाई बनाउने भन्नेमा ठूलो असर पार्न सक्छन् ।
काँग्रेसभित्र एकाथरी नेताहरु नेतृत्व परिवर्तनका लागि सक्रिय छन् । तर, त्यो संस्थापन पक्षमा देखिदैन । संस्थापन इतरभित्र भने देउवा र पौडेपछिको पुस्तामा नेतृत्व पुग्नुपर्ने आवाज बुलन्द छ । राप्रपाको चुनावी नतिजाले उनीहरुलाई उत्साही बनाएको छ ।
लिङ्देनको जीतले संस्थापन इतरमा रहेर नयाँ पुस्तामा नेतृत्व पुग्नुपर्ने आवाज उठाउँदै आएकाहरुलाई ऊर्जा मिलेको देखिन्छ । अब काँग्रेसको प्रदेश तहको चुनाव सकिएपछि काठमाडौं फर्कने नेताहरुले त्यस्तो माहोल तयार गर्न सक्ने हुन् या होइनन् ? चासोको विषय छ ।
संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइरालाले त्याग गर्न तयार भएको बताइसकेका छन् । यसबाट धेरै सन्देश गइरहेको छ । यी दुई नेताले त्याग गरेमा संस्थापनइतरबाट प्रकाशमान सिंह या डा. शेखर कोइरालामध्येबाट एक सभापतिका उम्मेदवार बन्ने सम्भावना बलियो भएको छ । राप्रपाको चुनावले नेपालको सबैभन्दा पुरानोमध्येको दल काँग्रेसमा नयाँ नेतृत्वका लागि बल गर्नेहरुलाई ऊर्जा मिलेको छ । यसको असर एक दुई दिनमै देखिनसक्छ ।




प्रतिक्रिया