Logo

देउवा फेरि सभापति बन्ने कि नबन्ने प्रदेश २ को मत निर्णायक



काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसको ६ वटा प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । जसमध्ये ३ वटाको अन्तिम नतिजा आइसकेको छ । बागमती प्रदेशमा पनि पहिलो चरणको मतदान सकिएको छ । लुम्बिनीमा मतगणना अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म प्राप्त नतिजा अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्षको वर्चश्व देखिएको छ । गण्डकीमा संस्थापन इतर विजयी भएको छ । लुम्बिनीमा पनि इतर समूह बलियो देखिएको छ ।

प्रदेश १ मा संस्थापन इतर बलियो देखिन्छ । बागमतीमा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको मत समेत जोड्दा संस्थापन पक्ष केही अगाडि छ ।

६ प्रदेशमध्ये ५ वटाको मत परिणामलाई केलाउँदा देउवा पक्ष अगाडि देखिन्छ । तर, प्रदेश २ सहित मधेशको मतले काँग्रेसको भावी सभापति को बन्ने टुंगो लगाउन सक्छ ।

प्रदेश २ मा ३२ क्षेत्रबाट ८ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएर आउँछन् । अन्य प्रदेशको मत स्थिति हेर्दा संस्थापन पक्षले यसमध्ये साँढे तीन सय मत कटाउन सके नेतृत्वमा देउवा दोहोरिनेछन् । तर, त्यसभन्दा कम मत प्राप्त भएमा स्थिति फरक हुनसक्छ ।

प्रदेश २ मा संस्थापन इतर र उपसभापति विमलेन्द्र निधिको स्थिति कस्तो हुने त्यसले माहोल फरक पार्न सक्छ । त्यहाँको ठूलो मत कुनैपनि पक्षमा पल्टनसक्छ । इतर समूह र निधि मिलेर देउवाविरुद्ध प्रस्तुत भएमा माहोल फरक पर्न सक्छ । यसकारण पनि प्रदेश २ को ८ सयभन्दा बढी मत निर्णायक बन्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्