Logo

भद्रपुर-धनकुटा गाडी चलाउने ड्राइभर थिए राप्रपा अध्यक्ष लिङ्देन



झापा, १९ भाद्र । कुनैबेला राजेन्द्र लिङ्देन भद्रपुरबाट धनकुटा गाडी चलाउँथे । उनले गाडी किनेर जिविकोपार्जनका लागि यो काम पनि गरे । कामलाई कहिले ठूलो सानो नभन्ने स्वभावका थिए लिङ्देन । यही परिचयले उनलाई झापामा मात्र नभई पूर्वाञ्चल भर परिचित गराएको थियो ।

मीठो बोल्ने सालिन र शिष्ट स्वभावका लिङ्देनमा कहिल्यै अहंकार झल्किएन । उनी आफ्नो काम सुझबुझका साथ गर्थे । अडानबाट कहिले पछि हट्दैनथिए ।

कम्युनिस्ट आन्दोलनको केन्द्र झापामा राजावादी लिङ्देनको प्रभाव धेरैका लागि आश्चर्यलाग्दो थियो । यो उनको व्यक्तिगत जीवन र स्वभावका कारण पनि थियो । कम्युनिस्ट नेताहरु विलासी देखेका झापाका जनताले सामन्तीको ट्याग लगाइएका राजावादीमा लिङ्देनको सादा जीवन देखेर आश्चर्य मान्थे ।

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा राजेन्द्र लिङ्देन झापा जिविसका सभापति नियुक्त भएका थिए । २०६१ सालको त्यो समयमा उनले झापाको आफ्नो क्षेत्रमा निकै विकासका काम गरे । उनी चुनौतीको सामना गर्दै विकासका लागि खटिए । यसले झापाली जनतामाझ लोकप्रीय बनायो ।

माओवादीबाट लिङ्देनले निकै चुनौतीको सामना गरे । उनको हल्दीबारीको घरमा आगजनी भयो । लिङ्देनमाथि भौतिक आक्रमण भयो । तैपनि उनी कत्ति पनि विचलित भएनन् ।

२०६२६३ को जनआन्दोलनमा उनलाई माओवादीले बिर्तामोडमा कालो मोसो दले । उनीमाथि आक्रमण भयो । घर जलाइदिएपछि बिर्तामोडमा विस्थापित भए ।

जनआन्दोलनपछि उनको जीवनमा झन् कठिन घडी आयो । जिविकोपार्जनका लागि गाडी चलाउन थाले ।

आफ्नै थालथलो सम्झिएर लिङ्देन फेरि हल्दिबारी फर्किए । त्यहाँ उनको सक्रियता फेरि बढ्यो ।

नेकपा एमालेका दिवंगत महासचिव मदन भण्डारी जन्मिएकै गाउँमा ढुङ्गेसाँघुमा २२ भदौ २०२२ मा भएको थियो । उनको बाल्यकाल भने झापामा बित्यो । पिता प्रहरीका जागिरे थिए । परिवार सामान्य नै थियो ।

लिङ्देन विद्यार्थीकालमा राजनीतिमा सक्रिय थिए । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भए । २०३६ सालको त्यो आवद्धताले उनलाई राजनीतिमा होम्यो । उनले इतिहासमा स्नातकोत्तर गरे ।

२०४६ सालमा लिङ्देनसहितको विद्यार्थी समूहमाथि अर्का विद्यार्थी राम थापाको हत्याको आरोप लाग्यो । उनले जेल जानुपरेको थियो । पछि छुटे ।

२०४९ सालको स्थानीय निर्वाचनमा गोलधाप गाविसको वडाध्यक्ष भए । तल्लो इकाईबाट राजनीति गरेर खारिएका लिङ्देन २०५४ सालमा पनि वडाध्यक्ष भएका थिए । उनी जनताको काममा खुबै खटिन्थे । यसले उनको राजनीतिक भूगोल बलियो बन्यो ।

लिङ्देनलाई राजनीतिमा अगाडि बढाउनमा कमल थापाको महत्वपूर्ण भूमिका छ । २०६६ सालमा उनलाई थापाले राप्रपा नेपालको केन्द्रीय सदस्य बनाए । विद्यार्थी मण्डलमा रहँदा पनि कमल थापा नै उनका नेता थिए । २०७० मा लिङ्देन राप्रपाको महामन्त्री भए ।

कमल थापाले राजनीतिमा अगाडि बढाउन भूमिका खेलेका लिङ्देनले उनैलाई अध्यक्षको निर्वाचनमा पराजित गरे । यसमा लिङ्देनको राजनीतिक चार्तुयता बुझ्न सकिन्छ । सुस्त तर निरन्तर अगाडि बढ्ने उनको कार्यशैली देखिन्छ । यसले पनि उनलाई सफल बनायो । तल्लो एकाईबाट बढेकाले उनले गहिरो गरी राजनीतिक जरो हालेका छन् । यसैले उनलाई कठिन घडीमा पनि कसैले हल्लाउन सकेनन् । एउटा ड्राइभर राप्रपा जस्तो देशको ठूलो दलको ड्राइभर बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्