Logo

चुनाव हारेपछि विरक्त कमल थापा



मंसिर १९, काठमाण्डौ । एकता महाधिवेशन अघि झन्डै १५ वर्षदेखि एकछत्र राप्रपाको नेतृत्व गर्दै आएका कमल थापाको हार हुने अनुमान शायद कमैले गरेका थिए । तर, विगत डेढ दशकमा उनले राप्रपालाई जसरी प्राइभेट कम्पनी जसरी चलाए । कुनै बेला किङमेकर बनेको पार्टीलाई जसरी निकै कमजोर बनाए, त्यो नै उनको हारको मुख्य कारण बन्यो । अनि गुटलाई महत्व दिएर युवाको मतलाई कमजोर मान्दा उनी नेतृत्वबाट बाहिरिनुपर्यो । यद्यपी महाधिवेशनले अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देनलाई जिताएपनि पदाधिकारीमा थापा पक्षलाई बहुमत दिलाएको छ । पार्टीलाई फेरि अर्को फुटबाट जोगाउन कार्यकर्ताले दिएको यस्तो स्पष्ट सन्देशलाई नेताहरुले मनैदेखि आत्मसाथ गर्नु पर्ने धारणा समेत बाहिर आएको छ ।

चुनावअघि नै लिङ्देन प्यानलका उम्मेदवारसँग वाकयुद्धमा उत्रिएका थापा अध्यक्षमा पराजित भएपछि विरक्तिएको जस्तो देखिन्छन् । उनले राजतन्त्रको समाप्तिपछि बाहिरी राजनीतिमा नदेखिएका पूर्व राजालाई जबरजस्ती राजनीतिमा तान्ने प्रयास गरे । लिङ्देनसँग पराजित भएलगत्तै थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई हराउन षडयन्त्र गरेको भन्दै आक्रोष व्यक्त गरे । ज्ञानेन्द्र शाहको फेक आइडीलाई मेन्सन गर्दै थापाले निर्मल निवासले आफूलाई हराउन भूमिका खेलेको उल्लेख गरेका छन् ।

त्यसैगरी पूर्वयुवराज्ञी हिमानी शाहको फेक आइडीमा आएको एक ट्वीट शेयर गर्दै राजसंस्था पुनः स्थापना हुन लागेकोमा बधाई भनेर फितलो धारणा व्यक्त गरे । आफ्नो पक्षका नेताहरुलाई याक एन्ड यति होटलमा जम्मा पारेर राजतन्त्र पुनस्र्थापनाको नीति नछाडेपनि पूर्व राजा ज्ञानेन्द्र शाहलाई अब बोकेर हिँड्न नहुने प्रस्तावमा सहमत गराएका छन् ।

थापाको असन्तुष्टी यतिमै सिमित रहेन । नवनिर्वाचित कार्यसमितिको सपथग्रहण कार्यक्रममासमेत गएनन् । थापा यतिमै सिमित रहेनन्, फेसबुकमा एउटा कविता उल्लेख गर्दै आफ्नो मन फाटेको र अब केले सिउने भनेर विलौना गरे ।

यि घटनाक्रमले पार्टीमा फेरि फुटको बिजारोपण हुने हो कि भन्ने शंका पनि उत्पन्न भएको छ । थापा नेतृत्वभन्दा बाहिर बसेर पार्टीहितको काम गर्न सक्दैनन् कि भन्ने आशंकालाई बल दिएको छ । तर, उनी निकटका नेताहरु भने यस्तो आरोप स्वीकार्न तयार छैनन् ।

राप्रपाको यो महाधिवेशनमा अध्यक्षका दुवै उम्मेदवारले अघि सारेको नीति एउटै थियो । बस्, फरक थियो त, पात्रको छवि र उमेर । यो महाधिवेशनको सबैभन्दा सुखद पक्ष भनेको नेपाली राजनीतिको नेतृत्वमा युवाहरुले हस्तक्षेप सुरु गरेका छन् ।

अब हुने नेपाली कांग्रेसको महाधिवेशनलाई समेत केही न केही असर पार्नसक्ने हो कि भन्ने सम्भावना पनि बढेको छ । किनकी त्यो दलमा पनि बढी मात्रामा युवाहरु नै केन्द्रिय प्रतिनिधिका रुपमा चयन भएर आएका छन् । सभापतिका उम्मेदवार बन्न लागेका विमलेन्द्र निधीले त लिङ्देनलाई बधाई दिदै राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्