Logo

सुरुङमार्गको काम एक चौथाइ पूरा



काठमाडौं, मंसिर २० । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एक चौथाइ काम सकिएको छ । निर्माणलाई तीव्रता दिन अहिले दैनिक आठ मिटर सुरुङ खन्ने काम भइरहेको सो सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यले सुरुङमार्गको २५ प्रतिशत काम सकिएको बताउँदै पूर्वतिर (काठमाडौ) बाट र पश्चिमतिर (धादिङ) बाट सुरुङ खन्ने काम निरन्तर रूपमा अगाडि बढिरहेको जानकारी दिए। उनका अनुसार अहिले आयोजना स्थलमा दैनिक तीन चरण (सिफ्ट) मा छ सय जनशक्ति कार्यरत छन् । त्यसैगरी अहिलेसम्म आयोजनाको भौतिक प्रगति ३३ प्रतिशत रहेको छ ।

एक हजार ८८८ मिटर सुरुङ खनिसकिएको बताउँदै उनले चालू आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म सुरुङ पूरा हुने जानकारी दिए। उनले भने, ‘‘आगामी वैशाखसम्म सहायक सुरुङ (इभ्याकुएसन टनेल) को र असारसम्म मुख्य सुरुङमार्ग (मेन टनेल) खन्ने काम सम्पन्न हुनेछ । ’’ गएको पुसदेखि धादिङतर्फबाट सुरुङ खन्ने काम सुरु भएको थियो । त्यसैगरी काठमाडौँतिर ओभर पास निर्माण सम्पन्न गरी बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ भने धादिङतिर अन्डर पास निर्माण पूरा भएको आयोजना प्रमुख शाक्यले बताए ।

उनका अनुसार काठमाडौँतर्फ मुख्य सुरुङ ३०६ मिटर र सहायक सुरुङ ६७६ मिटर खन्ने काम सकिएको छ भने धादिङतर्फ मुख्य सुरुङ २९३ मिटर र सहायक सुरुङ ४४५ मिटर खन्ने काम सकिएको हो ।

त्यसैगरी दुवैतिर गरी १२६ मिटर अडिट टनेल पूरा भएको छ भने ३९ मिटर क्रस प्यासेज निर्माण भएको उनले जानकारी दिए । मुख्य सुरुङ दुई हजार ६८८ मिटर र सहायक टनेल दुई हजार ५५७ मिटर खन्नुपर्ने छ । त्यसैगरी १२६ मिटर अडिट टनेल र १२८ मिटर क्रस प्यासेज निर्माण गर्नुपर्ने रहेको आयोजनाले जनाएको छ ।

सुरुङमार्गभित्र सिर्जना हुन सक्ने आपत्कालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गको समानान्तर हुनेगरी सहायक सुरुङमार्ग निर्माण भइरहेको छ । मुख्य र सहायक सुरुङमार्गलाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले जोडिनेछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot