Logo

देउवासँग को भिड्ला ?



काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को को होलान् चासोको विषय बनेको छ ।

नेपाली काँग्रेसको ६ प्रदेशको सभापतिको चुनाव हुँदासम्म देउवा पक्षले ३, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले २ र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले १ स्थान जितेको छ । देउवा र सिटौला मिल्दा देउवा मजबुत देखिएका छन् । तैपनि, सभापतिका लागि सिटौला मात्र मिलाएर बहुमत नपुग्ने अवस्था छ ।

अब काँग्रेसभित्र इतर समूहको तयारीतर्फ सबैको ध्यान गएको छ । इतर समूहमा सभापतिका धेरै आकांक्षी छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला पनि दाबेदार छन् । आधा दर्जन आकांक्षीलाई मिलाउने चुनौती इतर समूहको छ ।

पौडेल आफू सिनियर भएको र सबैको साझा उम्मेदवार बन्नसक्ने दाबी गर्दै आएका छन् । गण्डकी प्रदेश सभापतिमा इतर समूहलाई जिताउन सकेको जस पौडेलले लिन खोजेका छन् ।

डा. सशांक कोइराला महामन्त्री भएकाले आफू अगाडि बढ्ने दाबी गरिरहेका छन् । उनले पनि गण्डकी र लुम्बिनी प्रदेशको सभापति जिताएको जस लिन खोजेका छन् ।
पूर्व महामन्त्री प्रकाशमान सिंह पनि दाबेदार छन् । आफू उम्मेदवार बनेमा सबैलाई मिलाउन सक्ने दाबी गरिरहेका छन् । सधै आफ्नो परिवारले मात्र त्याग गर्न नसक्ने सिंहको भनाई छ ।

केन्द्रीय सदस्य डा. शेखर कोइराला पछिल्लो ५ वर्ष आफू देशभर सक्रिय भएर संगठनमा प्रभाव बनाएको तर्क गर्दै आएका छन् । कोइराला परिवारमा आफू सिनियर भएकाले पनि सबैका लागि मान्य हुने दाबी गर्दै आएका छन् ।

केन्द्रीय सदस्य सुजाता कोइराला आफू महिला भएको र सरकार र पार्टीमा पनि लामो अनुभव भएकाले चुनाव जित्ने दाबी गरिरहेकी छिन् ।

संस्थापन इतरका ६ जनाबाट साझा उम्मेदवार बनाउने गृहकार्य चलिसकेको छ । यो सफल हुन कठिन छ । सफल नभएमा कम्तिमा २ जना सभापतिमा उठ्ने निश्चित जस्तै छ । सभापतिको दौडबाट डा. सशांक कोइराला र सुजाता कोइराला ब्याक हुने सम्भावना पनि छ । पौडेलले पनि अरु कुनै उम्मेदवारको पक्षमा सहमति बनेमा आफू ब्याक हुने बताइरहेका छन् । तर, प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति बनाउन सबैभन्दा कठिन बनेको बुझिएको छ ।

सभापतिका आकांक्षीमा उपसभापति विमलेन्द्र निधि पनि छन् । निधिले देउवा समूह छाडिसकेका छन् । उनको मत महत्वपूर्ण हुनसक्छ । तर, निधिले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी ब्याक हुने सम्भावना कम छ । ब्याक भइहालेमा कस्लाई साथ दिने हुन् चासोको विषय छ । संस्थापन इतरमा निधिको समेत साथ भएमा देउवाका लागि सभापतिको प्रतिष्पर्धा कठिन बन्नसक्छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सभापतिको आकांक्षा राखेका छन् । तर, उनी देउवासँग समिकरण मिलाएर सम्झौतामा गइसकेका छन् । उनले उपसभापति, महामन्त्रीसहित महत्वपूर्ण पदको दाबी देउवासँग गरेको बुझिएको छ । देउवा सभापति जित्ने शर्तमा यसमा पनि तयार हुनसक्छन् ।



प्रतिक्रिया दिनुहोस्