Logo

गणतन्त्रको रक्षाका लागि सजग छौँ: अध्यक्ष यादव



काठमाडौं, मंसिर २१ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग रहेको बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा सोमबार​ लोहारपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जनआन्दोलन र मधेस आन्दोलनको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र भइरहेकाप्रति सबै सजग रहनुपर्ने उल्लेख गरे ।

सङ्घीयता र गणतन्त्र समाप्त पार्ने प्रयासलाई आफूहरुले एकपटक असफल तुल्याइसकेको भए पनि खतरा अझै कायम रहेको उनको भनाइ थियो । अध्यक्ष यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेसी जनताको काँधमा आएको बताए । “सङ्घर्षको यात्रा अझै जारी छ”, उनले भने।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले ल्याएको आरक्षणसम्बन्धी व्यवस्था विश्वकै उत्कृष्ट भएको बताए । आरक्षणको सुविधा प्राप्त गर्न दलित, महिला, मुस्लिमलगायत समुदायले बालबालिकाको शिक्षामा जोड दिनुपर्ने बताए ।

मुलुकमा प्रजतान्त्र स्थापनापछि पटक पटक सरकारमा गएको राजनीतिक दलहरुले जनअपेक्षा अनुरुपको काम गर्न नसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले मधेस आन्दोलनको भावना र उत्पीडित वर्गको सम्मानका लागि एकपछि अर्को लोकप्रिय कार्यक्रम ल्याएको स्पष्ट पारे ।

कार्यक्रममा जसपा कार्यकारिणी सदस्य राजकिशोर यादव, प्रदेशसभा सदस्य करिमा वेगम, संविधानसभा सदस्य धर्मेन्द्र साह, जिल्ला अध्यक्ष नागेन्द्रप्रसाद यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्