Logo

सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन्



काठमाडौं, २१ मंसिर : जब हामी ‘शिव’ भन्छौँ, हामी दुईवटा मूलभूत पक्षहरूलाई सङ्केत गरिरहेका हुन्छौँ ।

‘शि–व’— ‘त्यो जुन छैन’

‘शिव’ को शाब्दिक अर्थ हो, ‘त्यो जुन छैन ।’ आजको आधुनिक विज्ञानले हामीमाझ यो प्रमाणित गरिदिएको छ कि सबैथोक शून्यताबाट आउँछ, अनि पुनः शून्यतामै फर्किन्छ । अस्तित्वको आधार र यो ब्रह्माण्डको मूलभूत गुण नै विराट् शून्यता हो । त्यसमा भएका आकाशगंगाहरू सानातिना गतिविधिहरू मात्र हुन्- छिटाहरू जस्तै । बाँकी सबै विशाल खालीपन हो, जसलाई ‘शि-व’ भनिन्छ । शिव नै त्यो गर्भ हो, जसबाट सबैथोकको जन्म हुन्छ; शिव नै त्यो अन्धकार पनि हो, जसले सबैथोकलाई आफूभित्र सोस्दछ । सबैथोक शिवबाटै आउँछन्, अनि सबैथोक पुनः शिवमै फर्किन्छन् ।

शिव- अन्धकार !
त्यसैले, शिवलाई ‘अस्तित्वहीन’ भनिन्छ- अस्तित्व होइन । शिवलाई प्रकाशको रूपमा नभई अन्धकारको रूपमा बयान गरिन्छ । मानिसहरू प्रकाशको गुणगान गाउँछन्, किनकि उनीहरूको आँखाले उज्यालोमा मात्रै काम गर्दछ । तर, अन्धकार सदैव रहिरहेको छ । प्रकाशको अस्तित्व सीमित छ भनेर कुन सन्दर्भमा भनिएको हो भने, प्रकाशको स्रोत जेसुकै भएपनि- चाहे बिजुली बल्ब होस् वा सूर्य- अन्ततः यसले उज्यालो छर्ने क्षमता गुमाउने छ । प्रकाश शाश्वत (कहिल्यै नाश नहुने) हुँदैन । यो सदैव सीमित सम्भावना हो, किनकि यसको शुरु र अन्त्य हुन्छ । उज्यालोको दाँजोमा अन्धकार निकै विशाल सम्भावना हो । किनकि, अन्धकारको लागि कुनै पनि चिज जल्नुपर्दैन, यो सधैँ रहिरहन्छ- अन्धकार शाश्वत हो । अन्धकार जताततै हुन्छ । अन्धकार मात्र त्यस्तो हो, जुन सर्वत्र व्याप्त छ ।

तर, यदि मैले ‘दिव्य अन्धकार’ भनेँ भने, मानिसहरू मलाई राक्षसको उपासक वा यस्तै अरू केही ठान्छन् । खासमा भन्नुपर्दा, पश्चिमका केही स्थानहरूमा यो प्रचार गरिएको छ कि शिव राक्षस हुन् ! तर, यदि तपाईं यसलाई एउटा परिकल्पनाको रूपमा हेर्नुहुन्छ भने, सृष्टि र यसको सृजनाको समग्र प्रकियाको बारेमा पूरै विश्वमा योभन्दा स्पष्ट र बुद्धिमानी परिकल्पना अर्को छैन । शिव शब्दको प्रयोग नगरिकनै, मैले विश्वका विभिन्न वैज्ञानिकहरूसँग यस विषयमा कुरा गरिरहेको छु । उनीहरू जिल्ल पर्छन् । “ए त्यस्तो पो हो ? यो पहिल्यै थाहा थियो ? कहिले ?” हामीले यो कुरालाई हजारौँ वर्षदेखि जानेका छौँ । लगभग सबैजसो सामान्य किसानलाई अनजानमै यसको बारेमा थाहा छ । यसको पछाडि रहेको विज्ञान थाहा नभइकनै उनीहरू यसबारे कुरा गर्छन् ।

शिव- आदियोगी र आदिगुरु
अर्को स्तरमा, जब हामी शिव भन्छौँ, हामी एक निश्चित योगीलाई सम्बोधन गरिरहेका छाैँ, जो आदियोगी अर्थात् प्रथम योगी हुन् साथै आदिगुरु अर्थात् प्रथम गुरु समेत हुन् । आज हामीले जुन योग–विज्ञानलाई जानेका छौँ, त्यसको जनक वा आधार स्वयं शिव हुन् । योग, टाउकोको भरमा उभिने वा जबर्जस्ती श्वास रोक्ने बारेमा होइन । योग यस्तो विज्ञान र तकनिकी हो, जसमार्फत हामी यो जीवन मूलतः कसरी सृजना भएको छ अनि यसलाई परम सम्भावनासम्म कसरी लैजान सकिन्छ भनेर जान्न सक्दछौँ ।

योग विज्ञान, सबैभन्दा पहिले केदारनाथबाट केही दुरी माथि रहेको कान्तिसरोवर तटमा सञ्चार गरिएको थियो, जहाँ आदियोगीले आफ्ना सात शिष्यहरूमाझ यो भित्री तकनिकीलाई व्यवस्थित रूपमा प्रतिपादन गरेका थिए । यी सातजना शिष्यहरूलाई यस संस्कृतिमा सप्तऋषिको रूपमा चिनिन्छ र पुजिन्छ । योग विज्ञान सम्पूर्ण धर्महरूभन्दा पहिल्यै रहेको थियो । मानिसहरूले मानवतालाई विभिन्न चरणहरूमा अपाङ्ग बनाउने युक्तिहरू निकाल्नु अघि नै मनुष्यको चेतनालाई माथि उकास्नको लागि जरूरी रहेका शक्तिशाली साधनहरू जानिएको थियो अनि फैलाइएको थियो ।

शिव- एउटै शब्दका दुई अर्थहरू
अतः शिव शब्दले “त्यो जुन छैन” अनि “आदियोगी” दुवैलाई जनाउँछ । किनकि, यी दुवै पर्याय हुन् । यी— जो योगी हुन्— अनि त्यो— जुन अस्तित्वको आधार हो— दुवै एकै हुन् । किनकि, कसैलाई योगी भन्नुको अर्थ के हो भने, उनले अस्तित्वलाई स्वयंको रूपमा अनुभव गरेका हुन्छन् । यदि तपाईंले अस्तित्वलाई एक क्षणको लागि पनि आफूमा समाहित गर्नुपर्ने हो भने, तपाईं त्यो शून्यता बन्नुपर्छ । शून्यताले मात्रै सबैथोकलाई थामेर राख्न सक्दछ । कुनै वस्तुले सबैथोक थाम्न सक्दैन । एउटा भाँडोमा समुद्र अटाउन सक्दैन । यो ग्रहमा समुद्र अटाएको छ, तर यसमा सौर्य मण्डल अटाउन सक्दैन । सौर्य मण्डलमा केही ग्रहहरू र सूर्य अटाएका छन्, तर यसमा बाँकी आकाशगङ्गाहरू अटाउन सक्दैनन् । यदि तपाईं यसैगरी जानुभयो भने, अन्ततः तपाईंले यो देख्नुहुनेछ कि शून्यताले मात्रै सबैथोक आफूमा समाहित गर्न सक्दछ । योग शब्दको अर्थ मिलन हो । योगी ती हुन्, जसले यो मिलन वा एक हुनुको अवस्थालाई अनुभव गरेका हुन्छन्— अर्थात्, कम्तीमा एक क्षणको लागि भएपनि उनी पूर्ण शून्यता बनेका हुन्छन् ।

शिव शब्दका दुई अर्थहरू— “त्यो जुन छैन” र “आदियोगी”— एक स्तरमा एकअर्काका पर्याय भए तापनि दुवै भिन्नभिन्न पक्षहरू हुन् । यो प्रतीकात्मक संस्कृति भएकोले, हामी सजिलै यसबाट त्यसमा अनि त्यसबाट यसमा ओहोर–दोहोर गरिरहन्छौँ । यो क्षणमा हामी शिवलाई शून्यता (जसभन्दा पर केही छैन) भनेर सम्बोधन गर्छाैँ; अर्को क्षणमै हामी शिवलाई ती योगीको रूपमा सम्बोधन गर्छाैँ, जसले मानवतालाई योगको समग्र प्रक्रिया प्रदान गरेका थिए ।

शिव- जे होइनन् !
दुर्भाग्यवश, अहिले अधिकांश मानिसहरूलाई प्रचलित क्यालेन्डरको तस्विरमार्फत शिवसँग परिचय गराइएको छ । ती क्यालेन्डरहरूमा, शिवलाई पुक्क गाला भएको र निलो वर्ण भएको देवताको रूपमा देखाइने गरिन्छ, किनकि क्यालेन्डरका चित्रकारहरूसँग एउटा मात्र तस्विर हुन्छ । यदि तपाईंले कृष्ण बनाउन भन्नुभयो भने, उनीहरूले हातमा एउटा मुरली थमाइदिन्छन्; राम बनाउन भन्नुभयो भने, हातमा वाण थमाइदिन्छन्; शिव बनाउन भन्नुभयो भने, शिरमा चन्द्रमा राखिदिन्छन्— त्यत्ति भएपछि उनीहरूको काम फत्ते हुन्छ !

म जबजब यी क्यालेन्डरहरू हेर्छु, म कहिल्यै कुनै चित्रकारको अगाडि नबस्ने निधो गर्छु । बरु, फोटो ठीक छ— तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै खिचिन्छ । यदि तपाईं राक्षस जस्तो देखिनुहुन्छ भने, तपाईंको फोटो पनि राक्षसको जस्तै देखिनेछ । तर, शिव जस्ता योगीको गाला पुक्क परेको किन हुन्थ्यो र ? यदि तपाईंले उनलाई ख्याउटे जस्तो देखाउनु भएको भए, सन्तोष मान्न सकिन्थ्यो, तर पुक्क गाला भएका शिव— यो कसरी हुन सक्छ ?

योग संस्कृतिमा, शिवलाई भगवान्‌को रूपमा हेरिँदैन । उनले यस धरतीमा पाइला राखेका थिए अनि उनी हिमालयमा बसोबास गर्दथे । योग परम्पराहरूको स्रोत र जनकको रूपमा, मानव चेतनालाई माथि उठाउनमा उनको जे–जति योगदान छ, त्यो यति अद्भुत छ कि त्यसलाई बेवास्ता गर्न सकिँदैन । जे–जति तरिकाहरूमार्फत मानव प्रणालीलाई परम सम्भावनामा रूपान्तरण गर्न सकिन्छ, ती हजारौँ वर्षअघि नै आफूभित्र खोज गरेर पत्ता लगाइएको थियो । यसको गहनता र जटिलता अविश्वसनिय छ । त्यसबेलाका मानिसहरू सुसंस्कृत र बौद्धिक थिए कि थिएनन् भन्ने प्रश्नले कुनै अर्थ राख्दैन, किनकि यो कुनै निश्चित सभ्यता वा वैचारिक प्रकियाबाट जन्मिएको होइन । यो भित्री बोधबाट प्रकट भएको थियो । उनको सेरोफेरोमा के भइरहेको थियो भन्ने कुरासँग यसको कुनै सम्बन्ध छैन । यो आदियोगी स्वयंको उद्गार हो, उद्वलेन हो । उनले पूरै विस्तृत रूपमा मानव प्रणालीमा हुने हरेक केन्द्रको अर्थ दिए, साथै ती केन्द्रहरूसँग हामी के गर्न सक्छौँ भन्ने सम्भावना समेत पूरै विस्तारमा बताए । जे–जति भन्न सकिन्थ्यो, ती सबैलाई उनले यति सुन्दर र कुशल तरिकाले बताएका थिए कि आजको दिनसम्म पनि तपाईं एउटा पनि कुरालाई बदल्न सक्नुहुन्न । तपाईं केवल त्यसको अर्थ पत्ता लगाउने प्रयासमा आफ्नो पूरै जीवन बिताउन सक्नुहुन्छ ।

यस संस्कृतिमा, परापूर्व कालमा, अधिकांश मन्दिरहरू शिवका निम्ति मात्र बनाइएका थिए— अरू कसैका लागि होइन । पछिल्लो १००० वर्षमा मात्र, अरू मन्दिरहरू निर्माण गरिएका हुन् । शिव अर्थात् “त्यो जुन छैन ।” अतः “त्यो जुन छैन” को लागि मन्दिरहरू निर्माण गरिएका थिए । “त्यो जुन छ” भौतिक हुन्छ । “त्यो जुन छैन”, भौतिकभन्दा पर हुन्छ । मन्दिर यस्तो द्वार हो, जसमार्फत तपाईं त्यहाँ पुग्नुहुन्छ “जुन छैन” । शिवका निम्ति हजारौँ मन्दिरहरू निर्माण गरिएका छन्, अनि अधिकांश मन्दिरहरूमा कुनै मूर्ति छैन । त्यहाँ प्रतीकको रूपमा लिङ्ग राखिएको हुन्छ । न्युज कारखाना

–सदगुरुको प्रवचनमा आधारित



प्रतिक्रिया दिनुहोस्