Logo

कांग्रेस १४औं महाधिवेशनः सभापतिमा आठ आकांक्षी



काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेसको १३ पदाधिकारी र १ सय २१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना चुन्नका लागि केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

कांग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा। शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।

यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् ।

सभापतिको दौडमा संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर समूहबाट अब पौडेल, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्यसमेत रहेका नेता कोइराला छन् । तेस्रो धारबाट सिटौला अघि बढेका छन् ।

संस्थापन समूहबाट आफू अघि बढ्ने सन्देश प्रधानमन्त्रीसमेत रहेका देउवाले सोमबार मात्रै सरकारी निवास बालुवाटारमा आफूनिकटका पत्रकारसँगको भेटमा दिइसकेका छन् भने सोही समूहबाट निधि र श्रेष्ठको पनि दाबी रहँदै आएको छ ।

इतर समूहले भने सभापतिका लागि अझै पनि साझा उम्मेदवार तय गर्ने विषयमा छलफल जारी राखेको छ । तर, सो विषय सहजै टुंगिने भने सम्भावना कम छ । मंगलबार मात्रै पनि पूर्वमहामन्त्री सिंहको ठमेलस्थित निवासमा सो समूहको ५ घन्टा बढी बैठक चलेको थियो ।

वरिष्ठ नेता पौडेलले साझा उम्मेदवार तय गर्ने विषयमा आफूहरू सहमतिनजिक पुगेको दाबी गरे ।

‘हामी सहमतिको नजिक छौं, साझा उम्मेदवार टुंग्याउन हामी सबै एक छौं, बुधबार बिहान बैठक बसेर निर्णय लिन्छौं,’ मंगलबार बसेको इतर समूहको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै पौडेलले भने ।

बैठकमा महामन्त्री डा कोइरालाले भने आफू सहमतिका लागि सभापतिको दौडबाट बाहिरिने भन्दै वरिष्ठ नेता पौडेलका लागि समर्थन गरेका हुन् ।

तर, सभापतिमा दाबी गर्दै आएका नेता डा शेखर कोइराला र पूर्वमहामन्त्री सिंह भने आफ्नो दाबीबाट पछि हटेका छैनन् । उनीहरू आफैं सभापतिको साझा उम्मेदवार हुनुपर्ने अडानमा छन् ।

‘शशांकजी ब्याक हुन तयार हुनुभएको छ, शेखर र प्रकाशमानजीले अझै पनि आफ्नो अडान नछाड्दा समस्या भएको छ,’ बैठकमा सहभागी एक नेताले भने ।

इतर समूहको साझा उम्मेदवार खोज्ने प्रक्रियामा अघि बढ्दै आएका नेता अर्जुननरसिंह केसीले भने सहमति नभए सिंगो समूहले नै निर्णय लिने बताए ।

वरिष्ठ नेता पौडेलले भने दुई नेता सहमतिमा पुगे आफू पनि छाड्न तयार हुने संकेत गरेको महामन्त्री कोइरालाले भनेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्