Logo

राष्ट्रिय सभा निर्वाचनः २० पुसमा मनोनयन दर्ता, १२ माघमा निर्वाचन



काठमाडौं, मंसिर २२ । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम तथा कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगले २० फागुनबाट रिक्त हुने राष्ट्रिय सभातर्फका १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी मंगलबार निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार २० पुसमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी कार्यक्रम तय गरिएको जानकारी दिए ।

‘राष्ट्रिय सभातर्फ १९ पद रिक्त हुँदै छ, रिक्त हुनुअघि नै निर्वाचन गर्नेगरी आयोगले निर्वाचन कार्यक्रम र तालिका स्वीकृत गरेको छ । १२ माघमा राष्ट्रिय सभातर्फ रिक्त हुने पदमा निर्वाचन हुन्छ, त्यसका लागि दल दर्ता गर्नुपर्छ । आयोगले निर्वाचन प्रयोजनका लागि सबै कार्यक्रम ल्याएको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।

आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दललाई १ पुस देखि १० पुससम्म दल दर्ता गर्न समय निर्धारण गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन कानुनअनुसार कुनै पनि निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता अनिवार्य छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेगरी आयोगले निर्वाचन कार्यक्रम बनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्