Logo

साझा उम्मेदवारको अन्तिम रस्साकस्सीमा पौडेल समूह



काठमाडौं, मंसिर २२ । आसन्न १४औं महाधिवेशनमा नेतृत्वका लागि सभापति शेरबहादुर देउवाविरुद्ध एकमात्र साझा उम्मेदवार खडा गर्ने संस्थापनइतर समूहको प्रयास सफल हुन सकेको छैन । नेतृत्वका आकांक्षी नेताबीच साझा उम्मेदवारका रूपमा आ–आफ्नो पक्षमा सहमति जुटाउने अन्तिम रस्साकस्सी भने भइरहेको छ ।

संस्थापन पक्षबाट देउवाले पुनः नेतृत्व दाबी गरेका छन् भने संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेतृत्वको दाबी गरेका छन् । यसअघि देउवा समूहमा रहेका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गरी छुट्टै तयारी गरिहेका छन्। साझा उम्मेदवार खोजीको छलफलबाट निधि बाहिरिसकेका छन् ।

संस्थापनइतर समूहबाट शीर्ष नेताका रूपमा रहेका पौडेल, सिंह र कोइरालाद्वय चार नेता भने अझै साझा उम्मेदवार चयनको कोशिसमा छन् । नेतृत्वको दाबी गर्दै आएका यी चार नेतालाई सहमति गरी एकमात्र उम्मेदवार बन्न अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरुको पनि चर्को दबाब छ ।

एकमात्र साझा उम्मेदवार तय गर्ने अन्तिम प्रयासस्वरूप मंगलबार पनि पौडेल, कोइरालाद्वय र सिंहबीच छलफल भएको छ । संस्थापनइतर समूहबाट नेतृत्वमा एकमात्र साझ उम्मेदवार नभए फेरि पनि नेतृत्व देउवालाई बुझाए हुने भन्दै पटक–पटक सार्वजनिक अभिव्यक्ति दिँदै आएका महामन्त्री डा शशांक कोइरालाले सहमति हुन्छ भने आफ्नो दाबी छोड्न तयार भएको बताए।

कांग्रेस महाधिवेशन २४ गतेदेखि शुरू हुँदै छ । आफ्नो समूहमा नेतृत्वका लागि साझा उम्मेदवार तय गर्ने अन्तिम प्रयास भइरहेकै बेला सभापतिका आकांक्षी चारमध्ये एक प्रकाशमान सिंहले मंगलबार नै सिंहदरबारको मूल गेटअगाडि रहेको स्काई बैंकेटमा सम्पर्क कार्यालय खोलेर आफू पछि नहट्ने संकेत दिएका छन्।

सम्पर्क कार्यालय खोलेसँगै नेता सिंहले भने, ‘साझा उम्मेदवारका लागि छलफल भए पनि सम्भावना अत्यन्त न्यून छ । अधिवेशनमा साझा उम्मेदवार को हुने भन्नेबारेमा दिउँसो सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकले पनि कुनै निष्कर्ष निकाल्न सकेन । नेपाल समाचारपत्र दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्