Logo

देउवाका लागि प्रकाशमान यसकारण कठिन



काठमाडौं, २२ मंसिर । कुनै अप्रत्याशित घटना विकास नभए नेपाली काँग्रेसको संस्थापनइतर पक्षले प्रकाशमान सिंहलाई साझा उम्मेदवार बनाउने भएको छ । सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइराला सकारात्मक भएपछि यस्तो अवस्था विकास भएको हो ।

आज चाक्सीबारी पुगेर सशांकले सिंहसँग छलफल गरे । यसले पनि नतिजा साझा उम्मेदवार बनाउने दिशामा बढेको थियो ।

प्रकाशमान सिंहले १३औं महाधिवेशनमा पौडेलका लागि सभापति र सशांकका लागि महामन्त्री पद त्यागेर ब्याक भएका थिए । यसले पनि दुई नेतालाई उनको पक्षमा सहमति बनाउन दबाब पर्यो । सिंहले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा प्रभाव बनाउन सके । उनलाई मधेशबाट पनि राम्रो साथ मिल्यो ।

सिंहले कुनै हालतमा सभापतिको प्रतिष्पर्धाबाट ब्याक नहुने अडान राखिरहे । बरु उनी भविष्यमा आउने सत्तासँग जोडिएका पदहरु त्याग गर्न तयार देखिए । पावर सेयरिङका लागि लचिलो भए । सभापतिको प्रतिष्पर्धाबाट डगमग भएनन् ।

सिंहको उम्मेदवारी देउवाका लागि सबैभन्दा ठूलो चुनौती बन्न सक्छ । यसको मुख्य कारण देउवासँग रहेका कतिपय नेताहरु सिंहसँग पनि नजिक छन् । नेपाली काँग्रेस प्रजातान्त्रिक हुँदा देउवा सभापति र सिंह उपसभापति थिए । सिंह लामो समय देउवाकै समूहमा रहे । तर, १२औं महाधिवेशनमा उनले सुशील कोइरालालाई साथ दिए ।
१२औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका सिंहले लोकप्रीय मत ल्याए । उनको मत सभापति जितेका सुशील कोइरालाको भन्दा बढी थियो ।

सिंह बोलीमा पक्का र अडान भएका नेता मानिन्छन् । उनी काँग्रेसभित्र सुशील कोइराला र रामचन्द्र पौडेलले जस्तै निष्ठाको राजनीतिक गर्ने परिचय बनाएका छन् । जे बोल्छन् त्यही गर्छन् । कसैलाई आश्वासन दिएर ढाँट्ने स्वभाव उनमा छैन ।

सिंह साझा उम्मेदवारका रुपमा अगाडि बढ्दा देउवालाई सबैभन्दा चुनौती हुनुमा उनले देउवा गुटलाई राम्रोसँग बुझ्नु पनि हो । सिंहले त्यो गुटमा खेल्नसक्ने सम्भावना पनि छ । देउवासँग असन्तुष्टहरुलाई सिंहले तान्न सक्छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारका सदस्यहरुको साथ मिल्ने वित्तिकै सिंहको पक्षमा लहर नै आउनसक्छ । उनी सरकारमा रहँदा पनि विवादमा परेका छैनन् । राजाको प्रत्यक्ष शासनमा जेल हाल्न खोजिदा डटेर सामना गरेका थिए । तत्कालीन शाही आयोगमा उनले आक्रामक व्यवहार देखाएर चर्चामा आए ।

सिंह पक्का काँग्रेसी मानिन्छन् । उनी कम्युनिस्टहरुप्रति अनुदार छन् । यसकारण पनि काँग्रेसवृत्तमा उनले साथ पाउनसक्ने सम्भावना छ । सिंहले पछिल्लो समय कम्युनिस्टहरुको मात्र नभई सभापति देउवाको खुलेर आलोचना गरे । देउवाको विकल्प खोज्नुपर्ने अभिव्यक्ति खुलेरै दिए । जबकि सभापतिका आकांक्षी कतिपय नेताहरु देउवाविरुद्ध बोल्न डराएका थिए । सिंह भने आक्रामक बने । यसले पनि देउवाविरोधी काँग्रेसवृत्तमा सिंह लोकप्रीय बने ।

काँग्रेस संस्थापक नेता गणेशमान सिंहको छोरा हुनु पनि प्रकाशमानका लागि सभापतिको दौड वजनदार बनेको छ । उनका पिताले २०४६ सालको जनआन्दोलनपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा अस्वीकार गरेका थिए । उनले काँग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई उक्त पद दिन राजालाई आग्रह गरे । त्यो त्याग नेपालको इतिहासमा उदाहरणीय बनेको छ ।

सिंह काँग्रेसको तल्लो इकाईबाट उठेर दशकौं काम गर्दै अहिलेको अवस्थासम्म पुगेका हुन् । उनले कार्यकर्तालाई नजिकबाट बुझेका छन् । यो पक्षले पनि देउवालाई सिंह ठूलो चुनौती बन्नसक्छन् । कार्यकर्ता संरक्षणमा पनि सिंह पछि हट्दैनन् ।

सिंहलाई कतिपयले काठमाडौं उपत्यकामा मात्र प्रभावशाली नेता हुन् भन्ने आरोप लगाउँछन् । तर, विश्व राजनीतिमा कतिपय नेता ठूला महानगरका मेयर हुँदै देशको नेतृत्वमा पुगेको उदाहरणहरु छन् । सिंहको प्रभाव उपत्यका बाहिर पनि छ भन्ने महामन्त्रीमा लोकप्रीय मत देखि काँग्रेसको तल्लो इकाईहरुको अधिवेशनको नतिजाले देखाइसकेको छ ।

वचनमा पक्का र बोलीमा पक्का भएकाले प्रकाशमान सिंहले राजनीतिमा बेला बेलामा धक्का पनि खाँदै आएका छन् । तर, उनको यही स्वभाव कार्यकर्तामाझ विश्वसनीय नेता बनेको छ । पदमा नलोभिइहाल्ने स्वभाव उनमा छ । त्यसैले देउवाले उपप्रधानमन्त्रीसहित मागेको मन्त्रालय दिएर आफ्नो गुटमा तान्ने सर्तलाई अस्वीकार गरिदिए । बरु आफू सभापतिको दाबेदार भएकाले सहयोगको आग्रह गरे ।

काँग्रेसभित्र नयाँ नेतृत्वको तिव्र आकांक्षा बढेको देखिन्छ । नयाँ पीढीको ठूलो संख्या महाधिवेशन प्रतिनिधि भएर आएको छ । नेतृत्वमा रहेको जामले तेस्रो र चौंथो पुस्ता छटपटीमा छ । यसकारण पनि देउवाका लागि १४औं महाधिवेशन यसै पनि चुनौती बनेको छ । सिंह संस्थापनइतरको साझा उम्मेदवार बनेमा ठूलो संख्याको मत पल्टन सक्छ । यसकारण पनि देउवालाई सभापति बन्न इतर समूहबाट सिंह सबैभन्दा ठूलो चुनौती बन्नसक्छन् ।



प्रतिक्रिया दिनुहोस्