Logo

भारतको सैनिक इतिहासकै शक्तिशाली थिए जनरल विपिन रावत



जनरल विपिन लक्ष्मण सिंह रावत भारतका रक्षा प्रमुख थिए । उनी भारतको प्रथम रक्षा प्रमुख हुन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले रक्षा प्रमुखको पद खडा गरी उनलाई जिम्मेवारी दिएको थियो । त्यसअघि रावत भारतको स्थल सेनाध्यक्ष थिए ।

३० डिसेम्बर सन् २०१९ मा रक्षा प्रमुख नियुक्त भएका रावत उत्तराखण्डको पौरीमा जन्मिएका थिए । उनको जन्म १३ मार्च सन् १९५८ मा भएको थियो । उनी हिन्दु गडवाली परिवारका थिए । उनी अघिको पुस्ता पनि भारतको सैनिक क्षेत्रमा थियो । उनका पिता लक्ष्मण सिंह रावत भारतका पूर्व सैनिक अधिकृत थिए । लेफ्टिनेन्ट जनरलबाट सेवानिवृत्त भएका पिताको प्रेरणाले उनी सेनामा भर्ना भएका थिए । उनको मामावलीतर्फका हजुरबाबु भारतको पूर्व सांसद थिए ।

गोर्खा राइफलमा पनि रहेर काम गरेका रावतले जम्मु काश्मिमा पनि मेजरका रुपमा कार्य गरेका थिए । कर्णेलका रुपमा इलेभेर गोर्खा राइफल्सको कमाण्ड गरेका थिए ।
१ सेप्टेम्बर सन् २०१६ मा मोदी सरकारले रावतलाई स्थल सेनाध्यक्षमा बढुवा गर्दा उनीभन्दा सिनियर दुई सैनिकलाई उछिनिएको थियो । गोर्खा ब्रिगेडबाट सैनिक प्रमुख हुने उनी तेस्रो सैनिक अधिकृत थिए ।

रावतले मोदी सरकारको पालामा महत्वपूर्ण जिम्मेवारीहरु पाएका थिए । आफूभन्दा दुई सिनियर सैनिक अधिकृतलाई पछि पार्दै सेनाप्रमुख बने । सेनाप्रमुखबाट सेवानिवृत्त हुनेवित्तिकै रक्षा प्रमुखको जिम्मेवारी पाए । उनी भारतका शक्तिशाली अधिकारीमध्ये पर्दथे । भारतको सैनिक इतिहासमा उनलाई शक्तिशाली सैनिक अधिकृतका रुपमा लिइन्थ्यो ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्