Logo

‘काँग्रेस उपसभापति, महामन्त्रीलगायत सबै पदमा ३३ प्रतिशत महिला’



सुजाता कोइरालाः नेपाली काँग्रेसको १४औं महाधिवेशनले पार्टीको मात्र नभई मुलुकको भविष्यको मार्ग निर्धारण गर्दैछ । नेपाली जनताले सबैभन्दा बढी आशा र विश्वास गरेको पार्टी नेपाली काँग्रेसले लिने निर्णय र चयन गर्ने नेतृत्वसहित पदाधिकारी र केन्द्रीय सदस्यले मुलुकको भविष्यमा दुरगामी असर पार्ने भएकाले देशभित्र र बाहिरबाट चासो बढेको छ ।

काँग्रेसले नेपाली समाजमा हरेक किसिमका उत्पीडन र असमानताविरुद्ध लड्दै आएको इतिहास साक्षी छ । आफैभित्र पनि समानताका लागि कदम चाल्दै आएको छ । पछिल्लो समय काँग्रेसभित्र महिला, दलित, जनजाति, मधेशी, मुस्लिमलगायत पिछडिएको समुदायका प्रतिनिधित्व अझ बढी सुनिश्चित बनाउने आधार खडा गर्नुपर्ने आवाज बढेको छ ।

विशेषगरी नेपालको जनसंख्याको आधा हिस्सा रहेको महिलाको राजनीतिमा सहभागिता अझै पर्याप्त नभएको तथ्यांकले देखाउँछ । महिलालाई हरेक क्षेत्रमा समान सहभागिता नैसर्गिक अधिकार हो । यसर्थ नेपाली काँग्रेसको नेतृत्वदायी निकायमा महिलाको आधा सहभागिता सुनिश्चित हुनु आजको आवश्यकता हो ।

नेपाली काँग्रेसको विधानमा सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ कोषाध्यक्ष गरी १४ पदाधिकारीको व्यवस्था छ । पदाधिकारीमा महिलाको कम्तिमा ३३ प्रतिशत सुनिश्चितता हुनुपर्छ । संविधानमै महिलाको एक तिहाई सहभागिताको सुनिश्चिता गरेको सर्वविदितै छ । यस परिप्रेक्ष्यमा नेपाली काँग्रेसले पदाधिकारीमा ३३ प्रतिशत सुनिश्चितता गर्नुपर्दछ । केन्द्रीय सदस्यमा पनि ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्दछ । यो विधानमै व्यवस्था गरेर जानुपर्दछ । यो कदमले काँग्रेसको उचाई अझ बढ्नजान्छ । पार्टी नेतृत्वले तत्काल यसबारे निर्णय लिनुपर्दछ ।

म नेपाली काँग्रेसका महिला र पुरुष साथीहरु र नेपाली काँग्रेसका शुभेच्छुकहरु पदाधिकारीलगायत केन्द्रीय सदस्यमा ३३ प्रतिशतको सुनिश्चितता गर्न पार्टी नेतृत्वमाथि दबाब सृजना गर्न अपिल गर्दछु । पार्टी विधानमै महिलाको पदाधिकारीसहित केन्द्रीय कमिटीमा ३३ प्रतिशत सुनिश्चितताका लागि मेरो अभियानमा साथ दिन आग्रह गर्दछु । यो अभियान नेपाली काँग्रेसभित्र लैङ्गिग समानताको सुनिश्चितता मात्र नभई पार्टीलाई अझ प्रभावकारी र सशक्त बनाउनका लागि पनि हो ।

नेपाली काँग्रेसको विधानमा लैङ्गिग समानता र समावेशीताका लागि चालिने कदमले नेपालको राजनीतिमा दूरगामी सकारात्मक प्रभाव पर्न सक्छ । यो मुलुककै सुन्दर भविष्यका लागि कोसेढुंगा सावित हुनसक्छ ।

-नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले गरेको अपिल

 



प्रतिक्रिया दिनुहोस्