Logo

कांग्रेस महाधिवेशन आजबाट सुरु



काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्दै छन् ।

कांग्रेस महाधिवेशनमा देशका ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् ।

कांग्रेस नेता मीन विश्वकर्माले देश तथा विदेशबाट गरी करिब ४७ सयको संख्यामा महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।

कांग्रेस महाधिवेशनमा सहभागी हुन भारत, चीनलगायतका मुलुकबाट समेत विभिन्न राजनीतिक दलका प्रतिनिधि आउँदै छन् । भारतबाट सत्तारूढ दल भाजपा र विपक्षी दल कांग्रेस आइका प्रतिनिधि आउने बताइएको छ ।

यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि पनि सहभागी हुने कांग्रेसले जनाएको छ । केही विदेशी पाहुना भने काठमाडौं आइसकेको पाहुना स्वागत समितिका सदस्य राजिवविक्रम शाहले जानकारी दिए ।

नेपाली कांग्रेसले महाधिवेशन उद्घाटनका लागि २ सय ५० जना अट्ने मञ्च बनाएको छ । मञ्चमा तीन लहर हुनेछन् । पहिलो लहरमा ४० जनासम्म कलाकारले एकैपटक प्रस्तुति राख्न सक्नेछन् ।

यसैगरी, दोस्रो लहरमा पार्टीका शीर्ष नेता तथा अन्य दलका प्रमुख र विदेशी पाहुना राख्ने गरी मञ्च व्यवस्थापन गरिएको काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले जानकारी दिए ।

उनका अनुसार तेस्रो लहरमा पार्टीका केन्द्रीय सदस्य तथा अन्य अतिथिहरूलाई व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ । यसैगरी, मञ्च पछाडि एउटा एलईडी डिजिटल बोर्ड र दायाँबायाँसमेत गरी तीनवटा डिजिटल बोर्ड राखिएको छ । यस्तै भृकुटीमण्डप बाहिर सडकमासमेत दुईवटा डिजिटल बोर्ड रहनेछ ।

 



प्रतिक्रिया दिनुहोस्