Logo

यस्तो छ रावत सवार दुर्घटनाग्रस्त हेलिकोप्टरको विशेषता



काठमाडौं, मंसिर २४। भारतका रक्षा प्रमुख विपिन रावत सवार एमआई–१७भी५ हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनामा प¥यो । सो दुर्घटनामा रावत दम्पतीसहित १३ जनाको निधन भयो भने एक जनाको उपचार जारी छ ।

रक्षा प्रमुख रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उनी सवार हेलिकोप्टर एमआई–१७भी५ विश्वसनीयता अहिले प्रश्न उठेको छ । तर, सो हेलिकोप्टरको विश्वसनीयतामाथि प्रश्न उठाउनु निकै हतार हुने विश्लेषण पनि गर्न थालिएको छ ।

वास्तवमा दुर्घटनामा परेको यो हेलिकोप्टरलाई भारतीय वायुसेनाको निकै सुरक्षित र विश्वासिलो मानिँदै आएको छ । यो विमान रुसमा बनेको हो । एमआई–१७भी५ मोडलको यो विमान ठूलो उचाइ र राहत उद्धार कार्यमा प्रयोग गरिने गरिएको छ ।

भारतको प्लानेट–एक्स एयरोस्पेसका सर्भिसेज लिमिटेडका निर्देशक तथा सीईओले द हिन्दूसँग भनेका छन्, ‘एमआई–१७भी५ हेलिकोप्टर निकै विश्वसनीय विमान हो । खासगरी अलिकति उचाइ भएको ठाउँमा यो हेलिकोप्टर प्रयोग गरिन्छ । उत्तराखण्डजस्ता राज्यमा उचाइमा राहत उद्धार कार्यका लागि यसको प्रयोग हुँदै आएको छ ।’

यो हेलिकोप्टरको इन्जिन निकै बलियो छ । यसको डाउनवास निकै प्रभावकारी छ । हेलिकोप्टर आधुनिक एभियोनिक्ससहितको छ ।

द इन्डियन एक्सप्रेसले यो हेलिकप्टर विश्वभर प्रचलित रहेको जनाएको छ । द इन्डियन एक्सप्रेसले यो हेलिकोप्टरमा डिजिटल फ्लाइट रेकर्डर र एउटा ककपिट भ्वाइस रेकर्डर पनि रहेको उल्लेख गरेको छ ।

यो हेलिकोप्टरको कमजोरी भने कम उचाइमा हेर्न पाइलटलाई कठिन हुन्छ । कम उचाइमा चलाइरहँदा यो हेलिकोप्टर रूखमा ठोक्किने सम्भावना हुन्छ । कम उचाइमा चलाउँदा अनुभवी पाइलटलाई पनि राम्रोसँग ठम्याउन असहज हुन्छ ।

द इन्डियन एक्सपेसले आफ्नो समाचारमा लेखेको छ, ‘यो हेलिकोप्टर आधुनिक एभियोनिक्ससहितको छ । तर, कम भिजिबिलिटी र बादलभन्दा मुनि भएको अवस्थामा अवतरण गर्नु कठिन हुन्छ ।

रावत चढेको हेलिकोप्टर उनी अवतरण गर्नुपर्ने वेलिंटनस्थित हेलिप्याडभन्दा १० किलोमिटर टाढा रुखमा ठोक्किएर दुर्घटना भएको थियो । सो हेलिकोप्टर जतिखेर दुर्घटनामा प(यो, त्यसबेला घटनास्थलको मौसम भने सफा थियो । बादल पनि लागेको थिएन । तर, हेलिकोप्टर भने कम उचाइमा उडिरहेको थियो ।

एक प्रत्यक्षदर्शीले द इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘दुर्घटनामा परेको हेलिकोप्टर निकै कम उचाइमा उडिरहेको थियो । मैले हेर्दाहेर्दै अचानक मोडियो र एउटा रुखमा गएर ठोक्कियो । त्यसपछि ठूलो आवाजका साथ विस्फोट भयो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot