Logo

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न वा व्यापार गर्न माधव नेपालको सुझाव (भिडिओसहित)



काठमाडौं, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्रको कुनै भविष्य नभएको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो पार्टीको तर्फबाट शुभकामना दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले कांग्रेसको महाधिवेशन सफलताका साथ सम्पन्न गर्ने अठोट लिएको भन्दै त्यसको लागि शुभकामना दिए । उनले भने,‘आजभन्दा १६ वर्ष पहिले नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनमा भाग लिन पाएको थिएँ । त्यतिवेला राजतन्त्र र गणतन्त्रको एजेण्डा थियो । त्यो एजेण्डामा हामीले छलफल गरेका थियौं । गिरिजाबाबु र शेरबहादुरजीको अलग–अलग पार्टी थिए, मैले दुवै पार्टीको महाधिवेशनमा भाग लिएँ ।’

उनले आजको विषय के होला ? भन्दै नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको टिप्पणी गरे । उनले भने,‘सावधान म भन्न चाहन्छु । प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु । फेरि शीर उठाउने चेष्टा नगर्नुहोस । नदीको प्रवाह अघि बढिसकेको छ । अब नेपालमा रजातन्त्रको कुनै भविष्य छैन् । नेपाली जनता फेरि ज्वालामुखीझैं मेचीदेखि महाकालीसम्म विष्फोट हुन्छन् । राजाले पनि एउटा राम्रो पार्टी खोले हुन्छ, होईन भने व्यापार गरे हुन्छ । नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्छौं । राष्ट्रियताको रक्षा हामी गर्छौं । सामाजवदाको यात्रा, सामाजिक न्याय, समानता विकास र समृद्धिको यात्रामा हामी अघि बढ्नेछौं ।’

उनले राजनीतिमा धेरै विकृतिहरु रहेको भने सुनाए । उनले भने,‘विकृति राज्यसत्तामा पनि छन् । ती विकृतिहरु पन्छाउनुपर्छ । विकृतिका वाहकहरुले विकृति फैलाउने अनि हामी टुलुटुलु हेरेर बस्न सकिँदैन् । भ्रष्टाचार, मैमत्त, लोकतन्त्रको मूल्य र मान्यता कुल्चिने, अरुको मर्यादा नगर्ने प्रवृत्तिबाट अब देशलाई मुक्त गर्नुपर्छ । लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्छ ।’ Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्