Logo

कसरी पछि परे सशांक ?



काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री डा. सशांक कोइराला केन्द्रीय सदस्यमा उम्मेदवारी दिन पुगेका छन् । यो उनको वाध्यता पनि हो ।

१३औं महाधिवेशनमा महामन्त्रीमा चुनाव जित्दा धेरैले सशांकलाई काँग्रेसको भावी सभापतिका रुपमा हेरेका थिए । उनको लोकप्रीयता पनि चुलिएको थियो । तर, त्यो लामो समय टिक्न सकेन ।

महामन्त्रीका रुपमा सशांकले शक्तिको अभ्यास गर्न सकेनन् । उनले पार्टीमा पकड पनि बनाउन सकेनन् । स्पष्ट एजेन्डा पनि उठाएनन् ।

सशांकले धर्मको मुद्दा बेला बेलामा उठाएपनि यसलाई सशक्त बनाउन सकेनन् । अर्कोतर्फ, संगठनमा उनले पकड बढाउन सकेनन् ।

सशांकको प्रभाव जति सोचिएको थियो त्यति देखिएन । यसकारण पनि उनी सभापतिको दौडबाट पछि हटे ।

काँग्रेस संस्थापन नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाका छोरा हुनुले सशांकलाई राजनीतिक उचाई छिट्टै हासिल गर्ने अवसर थियो । तर, उनले त्यो विशेषतालाई राजनीतिक प्रगति हासिल गर्ने दिशामा सदुपयोग गर्न सकेनन् ।

सशांकले न त आफूलाई सभापतिको साझा उम्मेदवार बनाउन सके न त आफ्नो समूहमा कसैलाई साझा उम्मेदवार बनाउन सके । राजनीतिमा लामो अनुभव नभएकाले पनि सशांक पछि परे । उनले महामन्त्री हुनुको लाभ लिन सकेनन् । यसकारण उनी राजनीतिमा चुकेका छन् ।

विगतमा लिएको राजनीतिक उचाई पुनः हासिल गर्न सशांकलाई चुनौती छ । तर, असम्भव भने छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot