Logo

लाइसेन्सको अनलाइन आवेदन व्यावहारिक बनाइँदै



काठमाडौं, मंसिर २६। सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणालीलाई थप व्यवस्थित र व्यावहारिक बनाउने तयारी थालेको छ ।

कोभिड–१९ का कारण पछिल्ला वर्ष लाइसेन्सको आवेदन अनलाइनमा सीमित बन्न थालेपछि सरकारले अनलाइन प्रणालीलाई सुधार गरेर लैजाने तयारी अघि बढाएको हो । यातायात व्यवस्था विभाग महानिर्देशक नमराज घिमिरेले लाइसेन्सको अनलाइन प्रणालीमा सुधार गरेर व्यावहारिक बनाउन लागिएको बताएका छन् ।

अनलाइन प्रणाली आवेदनमा अरूको भरेर व्यापारकै रूपमा बढाउन थालिएपछि विभागले अब भने सेवाग्राहीले आफ्नो मात्रै भर्न पाउने र कुन कार्यालयमा कतिले आवेदन दिएका छन् भनेर हेर्न पाउने गरी सिस्टम अपग्रेड गर्ने तयारी गरिएको छ ।

अहिले अनलाइन आवेदन दिएको अवस्थामा उपत्यकामा एक वर्षपछि मात्रै ट्रायलको पालो पाउने अवस्था छ । अझ दुईपांग्रे सवारी साधनको ट्रायलका लागि दुई वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको छ । विभागले अब भने सेवाग्राहीले अनलाइनबाट नै आफ्नो पालो कहिले आउँछ भनेर हेर्न मिल्नेगरी व्यवस्था गर्न लागिएको छ । अनलाइन प्रणालीलाई व्यवस्थित गरिएपछि सेवाग्राहीले युजर नेम र पासवर्डसहितको अकाउन्ट बनाएपछि उक्त सुविधा पाइने विभागले जनाएको छ ।

हाल ६ लाख बढी सेवाग्राहीले अनलाइन आवेदन दिएर ट्रायल परीक्षा कुरिरहेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्