Logo

कोइराला परिवार किन एक भएनन् ?



काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसको राजनीतिको केन्द्रमा कोइराला परिवार बन्दै आएको छ । वीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला काँग्रेसको नेतृत्वमा रहे ।

संस्थापक नेताहरु मातृका र वीपी २०१७ साल अघि प्रधानमन्त्री पनि भएका थिए । पञ्चायतको ३० वर्षे कालखण्डमा काँग्रेसमाथि प्रतिबन्ध लाग्यो । त्यतिबेला कोइराला परिवार संघर्षको मैदानमा थिए । २०४६ सालको जनआन्दोलनपछि कोइराला परिवार पुनः शक्तिमा फर्किए । गिरिजाप्रसाद कोइराला र त्यसपछि सुशील कोइराला सभापति बने ।

कोइराला परिवारलाई सबैभन्दा एकजुट बनाउन गिरिजाप्रसाद कोइरालाले भूमिका खेले । असन्तुष्टिका बाबजुद कोइराला परिवारका सदस्य महत्वपूर्ण घडीमा एकढिक्का हुन्थे । सुशील कोइरालाले पनि त्यो परिस्थिति निर्माण गर्न सके ।

१३औं महाधिवेशनमा पनि कोइराला परिवारका सदस्य एकढिक्का भए । डा. सशांक कोइराला महामन्त्रीमा उठ्दा सुजाता कोइराला र डा. शेखर कोइराला केन्द्रीय सदस्यमा उम्मेदवार बनेर जिते । १४औं महाधिवेशनमा पुग्दा कोइराला परिवार एउटै प्यानलमा रहेनन् ।

शेखर कोइराला सभापति उठ्दा सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनिन् । तर, दुवैको प्यानल फरक छ । डा. सशांक कोइराला केन्द्रीय सदस्यको उम्मेदवार बनेपनि उनको नाम सबै प्यानलमा रहने निश्चितप्रायः छ ।

कोइराला परिवार यसपटक फरक प्यानलमा हुनुमा सबैले मान्ने नेता नदेखिनु एउटा कारण हो । शेखर, सुजाता र सशांक दुवै उस्तै उमेरका हुन् । तीनैजनाले आफ्नो स्थान खोज्दा फरक प्यानलमा पुगेको देखियो । विश्वस्त स्रोतका अनुसार सभापतिको दाबी गरेकी सुजाता ब्याक हुन तयार भइन् । तर, उनलाई पदाधिकारी दिन शेखर तयार भएनन् । शेखर आफै सभापतिमा उठ्ने भएकाले कोइराला परिवारका अर्का सदस्यलाई पदाधिकारीमा राख्न तयार भएनन् । उनले सशांकलाई पनि पदाधिकारीमा लगेनन् ।

कोइराला परिवारका नातेदारहरु पनि शेखर कोइरालाको प्यानलमा पदाधिकारीमा अटाउन सकेनन् । जसका कारण महेश आचार्यले एक्लै उपसभापतिको उम्मेदवारी दिए । काँग्रेसको राजनीतिमा मात्र नभई देशको राजनीतिमा शक्तिशाली बनेको कोइराला परिवारको शक्तिको परीक्षण महाधिवेशनमा हुने भएको छ । यो आफैमा महत्वपूर्ण पक्ष हो ।



प्रतिक्रिया दिनुहोस्