Logo

कांग्रेस महाधिवेशनः १३ पदाधिकारीसहित १ सय ३२ नेता चुनिँदै



काठमाडौं, मंसिर २७। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुन्न आज मतदान हुँदै छ । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेस विधानअनुसार १ सय ३४ जना निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । कांग्रेसको २४ मंसिरबाट काठमाडौंमा सुरु महाधिवेशनमा अब ४ सय ८९ जना उम्मेदवार नेतृत्व लिन अघि बढेका छन् । यीमध्ये अब १ सय ३२ जना जारी महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रियामार्फत चुनिँदै छन् । प्रदेश २ तर्फबाट रमेश रिजाल र आनन्द ढुंगाना भने निर्विरोध निर्वाचित बनेका हुन् ।

कांग्रेस विधानमा एक सभापति, दुई उपसभापति, दुई जना महामन्त्री, आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारी निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । यसैगरी, सदस्यहरूमा खुलातर्फ ३५ समेत गरी १ सय २१ जना विभिन्न प्रदेश तथा समावेशी समूहबाट गरी निर्वाचित हुनेछन् । यसरी कुल १ सय ३४ जनाको कार्यसमिति निर्वाचनमार्फत चयन हुने विधानको व्यवस्था छ ।

निर्वाचनको प्रक्रियामा देशका १ सय ६५ निर्वाचन क्षेत्र र भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । उनीहरूले नै नयाँ नेतृत्व चुन्न मतदान गर्नेछन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot