Logo

एमाले केन्द्रीय कमिटीको बैठकः ओलीको ‘एलकौटी’ गरेपछि १० बुँदे पक्षधर एकै ठाउँ



काठमाडौं, मंसिर २८। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा पदाधिकारीबीच चर्काचर्की भएको छ । अध्यक्ष केपी शर्मा ओलीको विभिन्न प्रस्तावसँगै पदाधिकारीबीच चर्काचर्की भएको हो ।

शनिबार र आइतबार एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बसेको थियो । बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्य मनोनयन गर्ने, पोलिटब्युरो र स्थायी कमिटीको सदस्यसहित नेताहरूको जिम्मेवारी बाँडफाँटलगायतका प्रस्ताव गरेका थिए ।

अध्यक्ष ओलीको प्रस्तावप्रति पदाधिकारीले आपत्ति जनाउँदै विरोध गर्न थालेको बैठकमा सहभागी एक नेताले बताए । विवादकै कारण आइतबार नै सम्पन्न भएको बैठकको निर्णय सोमबार रातिसम्म सार्वजनिक गरिएको छैन ।

एमालेको विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठनको प्रस्ताव अध्यक्ष ओलीले गरेका थिए । यस्तै, नेताहरूको मर्यादाक्रम तथा जिम्मेवारी बाँडफाँटसमेतको प्रस्ताव ओलीले बैठकमा गरे । तर ती प्रस्ताव गर्दै गर्दा ओलीले पदाधिकारीबीच कुनै छलफल नै नगरी मनोमानी रूपमा गरेको आरोप नेताहरूको छ ।

एमाले स्रोतका अनुसार उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुसाललगायतका नेताहरूले ओलीको प्रस्तावमा विरोध गरेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्