Logo

उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का किसुनजीको आश्रममा पुगे (फोटोफिचर)



काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का कृष्णप्रसाद भट्टराईको ललितपुरको बाडेगाउँमा रहेको कुटीमा पुगेका छन् । उनले त्यहाँ रहेको किसुनजीको शालिकमा माल्र्यापण गरेका थिए । किसुनजीलाई आर्दश मान्ने खड्का उपसभापतिमा निर्वाचित भएपछि नै पहिले त्यहाँ पुगेका हुन् । कांग्रेसको इतिहासमा खड्का र धनराज गुरुङ पहिलो निर्वाचित उपसभापति बन्न सफल भएका छन् । उपसभापतिमा निर्वाचित खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै क्रमशः २१२१ र १९०८ मत प्राप्त गरेका थिए ।

उनी कांग्रेसका युवा नेता रामहरि खतिवडासँगै त्यहाँ पुगेका छन् । उपसभापतिमा निर्वाचित हुनुभन्दा अघि उनी महामन्त्रीको भूमिकामा थिए । उनी पदमा रहँदा होस वा नरहँदा होस, किसुनजीको आश्रममा प्रायः गैरहन्छन् । आजपनि उनले किसुनजीको कुटीमा पुगेर पूजाआजा गरेको नेता खतिवडाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । खड्का आफूलाई किसुनजीको सच्चा कार्यकर्ता ठान्छन् । र, व्यवहारमा पनि उनले त्यो सिद्ध गरेर देखाएका छन् । विपी कोइरालाबाट प्रेरित खड्का किसुनजीको सच्चा अनुयायी हुन् । उनी पार्टीको कठोर अनुशासनमा बसेको नेता भएकोले व्यवहारमा पनि त्यो कुरा झल्किने गरेको छ ।

कांग्रेसमा खड्का अत्यन्तै लोकप्रिय नेताको रुपमा परिचित छन् । १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई विजयी गराउन खड्काको अहम भूमिका छ । खड्का र गृहमन्त्री बालकृष्ण खाँणकै सक्रियता र रणनीतिक योजनाका कारण देउवालाई सभापतिमा दोस्रो कार्यकालको यात्रा तय गर्न धेरै सहज भएको अहिले राजनीतिक वृत्तमा चर्चा छ । खड्का सभापति देउवाका अन्यन्तै निकट नेता हुन् ।

देउवालाई हरेक मोर्चामा सफल बनाउनको लागि उनले अहम भूमिका निर्वाह गर्दै आएका छन् । यसपटक १४औं महाधिवेशनमा पनि देउवालाई नै सभापतिमा निरन्तरता दिलाउन उनले खेलेको भूमिका चर्चाको विषय बनेको छ । हुन त देउवाले लिने सबैजसो निर्णयमा खड्काको भूमिका रहन्छ । खड्का नै देउवाका रणनीतिक योजनाकारको रुपमा स्थापित रहेको कुरा बेला बेलामा मिडियामा पनि चर्चा हुने गरेको छ।

खुमबहादुर खड्काको समूहबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका उनी खड्काकै कोटामा पहिले सहमहामन्त्री र पछि महामन्त्री भए । पछिल्लो पटक २०७४ मा खुमबहादुरको निधनपछि देउवाले उनलाई २१ बैशाख, ०७५ मा महामन्त्री मनोनीत गरेका थिए । अब पार्टीको उपसभापतिमा निर्वाचित भएपछि खड्का कांग्रेसमा झन् शक्तिशाली बनेका छन् । गृहसहित विभिन्न मन्त्रालयमा पटक–पटक मन्त्री भएर जिम्मेवारी लिएका उनी अहिलेसम्म विवादमा नपर्ने नेतामध्ये पर्छन् ।

२०१० सालमा सुर्खेतमा जन्मिएका खड्का २०४५ सालदेखि नै सक्रिय राजनीतिमा छन् । खड्काका बुवा जिल्ला पञ्चायतको उपसभापति थिए । माध्यमिक शिक्षापछि नेपालगन्ज र काठमाडौंबाटै उच्च शिक्षा हासिल गरेका खड्काले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । नेपाल विद्यार्थी संघमा आबद्ध भएका उनी केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म पनि भए ।



प्रतिक्रिया दिनुहोस्