काठमाडौं, १ पौष । विश्वप्रकाश शर्माको नाम नेपाली काँग्रेसको गहना बनिसकेको थियो । भाषणमा निपूर्ण उनी युवामाझ लोकप्रीय थिए । सामाजिक क्षेत्रमा उनले महत्वपूर्ण योगदान पुर्याए । जसले उनलाई काँग्रेस कार्यकर्ता माझ पनि लोकप्रीय बनायो ।
शर्मा विद्यार्थी राजनीतिबाट आएका हुन् । २०३७ मा विद्यार्थी हुँदा नै राजनीतिमा लागे । झापामा विद्यालय जीवनबाट नेविसंघको विभिन्न पदमा रहेका उनीसँग तल्लो इकाईमा काम गरेको अनुभव छ । २०४७ मा नेविसंघ झापा जिल्ला सभापति, २०४८ मा केन्द्रीय सदस्य, २०५३ मा महामन्त्री हुँदै उपसभापति बने । २०५७ मा नेविसंघ सभापति बनेका थिए ।
झापामा स्थापित हुन पनि उनले निकै संघर्ष गर्नुपरेको थियो । १२औं महाधिवेशनमा झापा जिल्ला सभापति बन्ने प्रयास सफल भएन । चुनावमा पराजित भए । १३औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भए । सभापति शेरबहादुर देउवाले उनको क्षमता चिने । प्रवक्ताको जिम्मेवारी दिए । यो जिम्मेवारीले उनलाई लोकप्रीयताको चुलीमा पुर्यायो ।
१४औं महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने प्रयास सफल भएन । उनी प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेर विजयी भए । यो उनले राजनीतिमा उठाएको जोखिम थियो जसमा सफल हुन सके ।
२०७० र २०७४ को संसदीय निर्वाचनमा झापाबाट चुनाव हारेका शर्माले पार्टीको आन्तरिक चुनाव पनि हारे । धेरै हार्ने नेतामध्ये उनी पनि परे । चुनाव हारेपछि उनले भनेः मन जितिन मत जितिन । उनले हारलाई पनि सहज रुपमा स्वीकारे ।
महामन्त्रीमा उम्मेदवार बन्दा पनि शर्माले जीत्न कठिन देखेका थिए । तर, पछि हटेनन् । यसपटक उनले कठिन प्रतिष्पर्धामा बाजी मारे ।
शर्माले महामन्त्रीमा चुनाव जित्दा डा. प्रकाशशरण महत र डा. मीनेन्द्र रिजाल जस्ता पटक पटक मन्त्री भइसकेका हस्तीहरु पराजित भए । प्रदीप पौडेल जस्ता लोकप्रीय नेता पराजित भए ।




प्रतिक्रिया