Logo

बुद्ध एयरका जहाजमा निरन्तर समस्या



काठमाडौं, पुस २ । निजीक्षेत्रको सफल र अग्रणी एयरलाइसन्स कम्पनी बुद्ध एयरका जहाजमा पटकपटक समस्या देखिँदै आएको छ । अन्य एयरलाइन्स कम्पनीका भन्दा ३ गुणा बढी यात्रु आवतजावत गराउने बुद्ध एयरमा पटकपटक समस्या देखिँदै आएको छ । यो समस्या बिहीवार पनि दोहोरिएको छ ।

बिहीवार दिउँसो भरतपुरबाट काठमाडौंतर्फको उडानका क्रममा इन्जिनमा प्राविधिक समस्या देखिएपछि तुरुन्तै जहाज अवतरण गरिएको थियो । कल साइन ९एन–एईइैको बिचक्राफ्ट जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाजलाई भरतपुर विमानस्थलमै सकुशल अवतरण गरिएको बुद्ध एयरले पे्रस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

उक्त जहाजमा २ जना बालबालिका, १७ जना वयस्क गरी १९ जना यात्रु रहेका थिए भने पाइलट, कोपाइलट र विमानपरिचारिका गरी ३ जना सदस्यहरू पनि थिए । जहाजमा समस्या आएपछि कम्पनीले अर्को जहाजबाट यात्रुहरूलाई काठमाडौं पठाएको थियो । गत असोज ११ गते काठमाडौं–विराटनगर उडान गरेको जहाजमा पनि समस्या देखिएको थियो । बिहानी पख उक्त गन्तव्यमा उडान गरेको जहाजमा ७३ जना यात्रु थिए ।

त्यसबेला जहाजको ल्यान्डिङ गियरमा समस्या आएपछि आकाशमै घण्टौंसम्म घुमेको जहाज अन्ततः काठमाडौं विमानस्थलमा सफल अवतरण गरिएको थियो । यस्तै, मङ्सिर २२ गते बुधवार पनि भैरहवा–काठमाडौं उडानका क्रममा पनि समस्या देखिएको थियो ।

बुद्ध एयरको युफोर–८१० जहाजलाई पनि तुरुन्तै अवतरण गरिएको थियो । उक्त जहाजको दायाँ प्रोपेलर ‘पीइसी सिंगल च्यानल’मा समस्या देखिँदा अवतरण गराइएको थियो । त्यसमा रहेका यात्रुलाई अर्को जहाजको बस्दोबस्त गरी बुद्ध एयरले काठमाडौं यात्रुलाई पठाएको पनि कम्पनीले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको थियो ।

कम्पनीका एकअधिकारीले भने सानोसानो जानकारी पनि बुद्ध एयरले सार्वजनिक गरेको हुँदा यी कुरा बाहिर आएको दाबी गरेका छन । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्